पोखराको बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना युवा पक्राउ, लागूऔषध कारोबार विवाद हुन शक्ने आशंका

-


     पोखरा क्लिक     
     वैशाख २७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्क क्षेत्रमा ग्याङ फाइटमा संलग्न ६ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।

घटना वैशाख २२ गते राति करिब ९ः३० बजे भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई वैशाख २६ गते पोखराको बाझपाटन र बागलुङ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बस्नेतले जनाए । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, मादी गाउँपालिका–११ स्थायी घर भई हाल बाझपाटन बस्ने २३ वर्षीय राजेश परियार, गोरखा धार्चे गाउँपालिका–६ स्थायी घर भई हाल बाझपाटन बस्ने ३० वर्षीय दिपेश भनिने दिलेराम गुरुङ रहेका छन्। त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल पोखरा–२ बागलुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा–२ बागलुङ बसपार्क बस्ने २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लागूऔषध कारोबारसम्बन्धी विवादका कारण उनीहरूबीच ग्याङ फाइट भएको हुन शक्ने प्रहरीले अनुमान गरेको छ । डिएसपी बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता बस्नेतले सार्वजनिक स्थानमा अशान्ति फैलाउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने पनि बताए । पक्राउ परेका सबैमाथि म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।