‘१३ कि.मी. भर्टिकल रन २०२६’ मा पुरुष तर्फ गौतम श्रेष्ठ र महिला तर्फ पदम कुमारी सुनुवार विजेता

-


     पोखरा क्लिक     
     वैशाख २६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २६ कास्की,

पोखरामा आज (शनिबार) सम्पन्न भएको ‘१३ के भर्टिकल रन २०२६’ मा पुरुषतर्फ गौतम श्रेष्ठ र महिलातर्फ पदम कुमारी सुनुवार प्रथम हुन सफल हुनु भएको छ । पोखरा महानगरपालिका–१३ स्थित बाझापाटन, काँहुखोलामा रहेको श्री सत्य युवा सेवा समितिको आयोजनामा पोखरा १३ मा पहिलो पटक आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ श्रेष्ठ र महिला तर्फ सुनुवार प्रथम हुनु भएको हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा गौतम श्रेष्ठले नगद रु. १३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। त्यसैगरी महेन्द्रबहादुर बोगटी द्वितीय हुँदै रु. ९ हजार प्राप्त गर्दा अजय पाण्डे क्षेत्री तृतीय हुँदै रु. ५ हजार पुरस्कार हात पार्नुभयो । महिलातर्फ पदम कुमारी सुनुवार प्रथम हुँदै रु. १३ हजार पुरस्कार जित्न सफल हुनुभयो । यमुना घर्ती मगर द्वितीय हुँदै रु. ९ हजार तथा बिपना रसाइली तृतीय हुँदै रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेताहरूलाई पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बराल, समितिका अध्यक्ष हितमान गुरुङ, सचिव महेश आचार्य, अग्रज पत्रकार सोभाकान्त सिग्देल लगायतले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी अन्य धावकहरूलाई पनि ‘फिनिसर मेडल’ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले पोखरा–१३ क्षेत्रमा खेलकुद गतिविधिको प्रवद्र्धन गर्नुका साथै युवाहरूलाई स्वास्थ्य र खेलप्रति आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुगेको आयोजक समितिको विश्वास रहेको छ ।