
दीननाथ बराल,
पोखरा २५, वैशाख,
अन्नपूर्ण आधार शिविर देखि घान्द्रुक सम्म सञ्चालन हुने “अन्नपूर्ण म्याराथन” को छैटौँ संस्करण आगामी जेठ २० गते हुने तयारी गरिएको छ । हरेक वर्ष जुन ३ मा मनाइने अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर आयोजना हुँदै आएको उक्त प्रतियोगिताले साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले उक्त प्रतियोगितालाई यस बर्ष पनि संचालन हुने तयारी गरिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पोखराक्लिकलाई जनाएको छ ।
प्रतियोगिताको प्राविधिक व्यवस्थापन नेपाल एडभेन्चर रनिङ फेडेरेशनले गर्ने भएको छ भने यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक ललित गुरुङले बताउनु भयो । ४२.१९५ किलोमिटर दूरीको म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, छोम्रोङ, किम्रोङखोला हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ । हिमाली भूगोल, दुर्गम पदमार्ग र अनुपम प्राकृतिक सौन्दर्यका कारण यो म्याराथन नेपालकै आकर्षक साहसिक खेल प्रतियोगितामध्ये एक मानिन्छ ।
गत वर्ष सम्पन्न पाँचौँ संस्करणमा पुरुषतर्फ तिलक बहादुर सुनुवार तथा महिलातर्फ सुनमाया बुढा विजेता हुनु भएको थियो । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावक, गण्डकी प्रदेशका उत्कृष्ट धावक, अन्नपूर्ण गाउँपालिकाभित्रका सहभागी तथा लगातार तीन संस्करणमा सहभागी महिला धावकलाई विशेष पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जनाउनु भयो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग को टोलीले अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको विश्व इतिहास रचेको ७५ वर्ष पूरा भएकाले प्रतियोगितालाई विशेष महत्वका साथ आयोजना गर्दै आएको हो ।
म्याराथनसँगै सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवद्र्धन अभियान लगायतका कार्यक्रम हुने भएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अमेरीका र इरान बिचको द्धन्द्धले गर्दा यसबर्ष यूरोपेली धावकहरुको सहभागितामा केही कमी आउन सक्ने आशंका गरिएको छ । खेलाडीहरुको दर्ता हाल सुरु भएको छ ।




