
दीननाथ बराल,
पोखरा १८, वैशाख,
आयोजक आर एस पोखरा फुटबल क्लब माथि एकतर्फी ८ गोल बर्षाउदै नेपाल पुलिस क्लव महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रबेश गरेको छ । आज (शुक्रबार) पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा पुलिसले आयोजक माथि ८–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल निर्मला विक र साहारा लिम्बुले एक÷एक गोलको योगदान दिनुभयो । पुलिसले थप एक गोल भने उपहार गोल प्राप्त गर्यो । पाँचौ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । खेलको दशौं मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर बनाउनु भयो । २७ औं मिनेटमा रेखाले पुनः गोल गर्दा ३५ औं मिनेटमा ह्याट्रिक पुरा गर्नु भयो । त्यसको २ मिनेट पश्चात रेखाले नै पुलिसका लागि अर्को गोल थप्नु भयो ।
खेलको सुरुवातबाट नै आयोजक माथि हावी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम ग¥यो । पुलिसले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल उपहार स्वरुप प्राप्त गर्न सफल भएको हो । खेलको ५० औं मिनेटमा साहाराले गोल गर्नु भयो । ६० औं मिनेटमा रेखाले व्यक्तिगत पाचौं गोल गर्नु भएको हो । रेखा खेलको प्लेयरअफ दी म्याच समेत घोषित हुनु भयो । जित संगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आर एस र पुलिस संगै त्रिभुवन आर्मी क्लब र संकटा क्लबको सहभगिता रहेको छ ।
प्रतियोगिताअन्तरग भोलि (शनिबार) त्रिभुवन आर्मी क्लब र संकटा क्लब बीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन ड्रिम हाउस स्पोट्र्सका सञ्चालक रविन कार्कीले गर्नु भएको थियो ।
गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना भएको हो । यस अघि सम्म पोखरामा महिला तर्फको ठूलो प्रतियोगिता हुन सकेको थिएन् ।




