सिटिजन फर्निचरका संचालक कार्की, गायक बस्याल प्रदेशबाट सम्मानित

-


     पोखरा क्लिक     
     वैशाख १७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक युवा व्यवसायी दीपक कार्की गण्डकी प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ । सामाजिक तथा खेलकुदका विभिन्न संघ संस्थामा आबद्ध कार्कीलाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आज (विहीबार) एक समारोहका बिच सम्मान गरेको हो ।

गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत कार्कीलाई सम्मान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव डा.शेषनारायण पौडेल र उपसचिव घनश्याम पौडेलले उहाँहरुलाई सम्मानपत्रको साथमा दोसल्ला र माला लगाउदै सम्मान गर्नु भएको हो । गण्डकी प्रदेशको राजधानी पोखरा र यसको सेरोफेरोमा हुने बजारको ठूलो हिस्सा उहाँले सञ्चालन गरेको सिटिजन फर्निचरले ओगट्ने गरेको छ । कार्की समाज सेवाका लागि चर्चित हुनुहुन्छ । सामाजिक काममा आफै खटिनेदेखि सामाजिक कार्यका लागि आर्थिक सहयोग पनि निरन्तर गर्दै जाने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

कार्कीसँगै गायक तथा संगीतकार एवं संचारकर्मी सन्तोष बस्याल पनि सम्मानित हुनु भएको छ । पत्रकारितासँगै संगीत कर्मलाई निरन्तरता दिदै आएका बस्याललाई मन्त्रालयले सम्मान गरेको हो । त्यसै गरी मन्त्रालयले अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको हो ।