
पोखरा,
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई ‘खेलाडी उत्पादन वर्ष’ का रूपमा मनाउन आग्रह गर्नु भएको छ । पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको आज (आइतबार) पोखरामा सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नयाँ बर्ष २०८३ मा खेलाडी उत्पादन हुने गरी विभिन्न प्रशिक्षण तथा प्रतियोगिताहरु संचालन गर्न आग्रह गर्नु भएको हो ।

गण्डकी प्रदेश खेलाडी उत्पादनमा अपेक्षाकृत कमजोर देखिएको उल्लेख गर्दै अध्यक्ष गुरुङले भन्नुभयो “ महानगर, जिल्ला स्तरका खेलकुदका गतिविधिहरु आयोजना गर्नुहोस हामीले सकेको सहयोग गछौं, यसले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्छ, सबै समितिहरुले विधानअनुसार पारदर्शी र जिम्मेवार ढंगले काम गर्नुहोस । ” नेपाल तेक्वान्दो महासंघका सल्लाहकार हरिश्वर पोखरेलले खेलकुदको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभयो । खेलको स्तर, रेफ्रीको क्षमता र समग्र व्यवस्थापन सुधारमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले तेक्वान्दोको विकास र विस्तारमा संघले निरन्तर भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। साधारणसभामा समितिका सचिव निरोजबहादुर नेपालीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रूद्रबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, समितिले आर्थिक कोष स्थापना गरी पदाधिकारीहरूबाट रकम संकलन सुरु गरेको जनाएको छ । समितिका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरका प्रथम उपाध्यक्ष धर्मराज शाहलगायतले खेलाडीलाई अवसर सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।



