भद्रकाली क्याम्पसमा खेलकुद सुरु

-


     पोखरा क्लिक     
     वैशाख १० गते २०८३ मा प्रकाशित


पोखरा १० वैशाख,

भद्रकाली बहुमुखी क्याम्पस परिसरमा उत्साह र उमंगका बीच विहीवारदेखी वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ। क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर खेलकुद सुरु गरिएको हो । क्याम्पस प्रमुख नवराज रेग्मीले विद्यार्थीहरूलाई हार्दिकताका साथ खेलकुदमा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन अनुरोध गरे ।

वैशाख १०, ११ र १४ गते गरी तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद कार्यक्रममा छात्र छात्रा दुवै समूहका लागि भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र छेलो लगायतका खेलहरू समावेश गरिएका छन्। अतिरिक्त क्रियाकलाप संयोजक बुद्धिसागर सापकोटा र सह–संयोजक नरेन्द्र घिमिरेले सम्बन्धित खेलका संयोजकहरू शिशिर ढुंगाना, नरेश तिमिल्सिना, गोविन्द गौतम, उमेश आचार्य र डम्बर क्षेत्रीलाई खेल व्यवस्थापनका फाइलहरू हस्तान्तरण गर्दै कार्यक्रमलाई व्यवस्थित बनाइएको छ ।
पहिलो दिनको खेलमा छात्रा डोरी तान्नेमा बिबिएस तेस्रो वर्षकी कृति गुरुङको समूह प्रथम, छात्र डोरी तान्नेमा बिबिएस प्रथम वर्षका सन्तोष तामाङको समूह प्रथम र बिबिएस दोस्रो वर्षका सुनिल कार्कीको समूह दोस्रो भए । छात्र भलिबलमा पनि सन्तोष तामाङको समूहले विजय हात पारेको छ । छात्रा छेलोमा बिबिएस दोस्रो वर्षकी सुस्मिता बराल प्रथम, सन्ध्या गुरुङ दोस्रो र बिए दोस्रो वर्षकी मोनिका गुरुङ तेस्रो हुन सफल भइन्।

खेलकुदको यो रोमाञ्चक यात्रा शुक्रवार विहान छात्र छेलो, छात्रा भलिबल तथा छात्र–छात्रा बास्केटबलका खेलहरू हुने छ । कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थी कल्याणकारी क्लबकी अध्यक्ष सुस्मिता बराल तथा क्लबका पदाधिकारी र सदस्यहरू, साथै बिबिएस र बिए कार्यक्रमका विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो, जसले वातावरणलाई अझ जीवन्त बनाएको थियो।