
पोखरा, २७ चैत,
पर्यटनको राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।

बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन हुने छ । प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ गरी चार विधा रहेकाछन् । खुलातर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताले पोखरामा खेलकुद पर्यटन प्रवद्र्धनसँगै पोखराको रात्रिकालीन सडक पनि पर्यटन प्रबद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने विश्वास गरिएको छ । साथै सहभागि हुने धावकहरुलाई हेडल्याम्प सहित सहभागि हुन आयोजकले आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रुपमा रहेका छन भने प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, पोखरेली ट्याक्सी सेवा प्रा.लि., समियोग टुरिष्ट रिसोर्ट लगायतको सहयोग रहेको छ । प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन् ।



