याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

-


     पोखरा क्लिक     
     चैत्र १७ गते २०८२ मा प्रकाशित


पोखरा, १७ चैत,

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् ।

कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना, समाजको यथार्थ एकै सेकेन्डमा दस्तावेजीकरण गरेको देखेको छौं,’ उनले भनीन्, ‘भाषा नबुझको अवस्थामा पनि तस्बिरले धेरै कुरा बुझेको अवस्था छदैछ । तस्बिरले भूगोल, सिमाना र भाषाको पर्खाल नाघेर एकै ठाउँमा राख्ने वातावरण सिर्जना गरेको छ ।’ पछिल्लो समयको डिजिटल युगमा एआईको माध्यमबाट फेक तस्बिर बनाएर भ्रम फैल्याउने गलत काम भइरहेका समयमा सजग हुनुपर्नेमा उनको जोड थियो । यस चूनौतिलाई चिर्दै अघि बढ्नुपर्ने फोटो पत्रकारहरुसामु चूनौति रहेको उनको भनाइ थियो । यी विषयमा पनि तालिममा छलफल हुनुपर्ने उनले बताइन् । आगामी दिनमा फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यकताका आधारमा तालिमका कार्यक्रम गर्दै जाने उनको प्रतिवद्धता थियो ।

तालिमका मुख्य प्रशिक्षक हरी महर्जनले फोटोको कला सिक्नका लागि तालिम फाइदाजनक हुने बताए । प्रशिक्षार्थीहरुको आवश्यकता हेरी प्रशिक्षण दिएर फोटो पत्रकारितामा सँगै हिड्ने उनले सुनाए । नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले फोटोले समाचारलाई विश्वसनीय बनाउने भएकाले समाचारमा फोटो अनिवार्य रहेको बताए । त्यसैले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रेस रजिष्ट्रारको आयोजनामा भएको तालिममा संघले सहकार्य गरेको उनको भनाइ थियो । कार्यक्रममा संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक राधिका कंडेलले फोटो पत्रकारको अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताइन् । सोही अनुसार फोटो पत्रकारहरु प्रशिक्षित हुनेमा उनले विश्वास व्यक्त गरिन् । तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइनेछ । हरी महर्जन, केशवशरण लामिछाने, घनश्याम पौडेल, कृष्णमणि बराल र दुर्गा रानामगरले तालिममा प्रशिक्षण दिनेछन् । तालिममा पोखराका विभिन्न मिडियामा आवद्ध ४० जना फोटो पत्रकार सहभागी छन् ।