
दीननाथ बराल,
पोखरा, १६ चैत,
पर्यटकीय नगरी पोखरामा सम्पन्न दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’मा करिब एक सय सवारी साधन बुकिङ भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त अटो शोले ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै अटो शो सम्पन्न भएको आयोजक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखराक्लिकलाई जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतीमा लेकसाइडस्थित तालबाराही चोक नजिक बाराही खेल मैदानमा आयोजित प्रदर्शनीमा ३५ हजार दर्शकले अवलोकन गरेको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताउनु भयो । अटो शो अवधिभर प्रदर्शनीमा करिब ३५ वटा सवारी साधन बिक्री तथा डेलिभरी भएको र झण्डै एक सय सवारी साधन बुकिङ भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । वाडाका कोषाध्यक्ष अशोक चालिसेले विशेषगरी विद्युतीय (ईभी) सवारी साधनप्रति उपभोक्ताको आकर्षण उच्च देखिएको जानकारी दिनुभयो । “अधिकांश बिक्री र बुकिङ ईभी गाडीमै केन्द्रित रह्यो,” उहाँले भन्नुभयो । आयोजकका अनुसार अटो शोमा करिब ४५ हजार दर्शक भित्र्याउने र एक अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको थियो। तर केही दिन परेको वर्षाका कारण लक्ष्यभन्दा केही कम उपलब्धि हासिल भएको जनाइएको छ ।
नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले प्रतिकूल मौसमका बाबजुद पनि अटो शो करिब ८० प्रतिशतभन्दा बढी सफल भएको बताउनुभयो । उहाँले अटो व्यवसाय प्रवद्र्धनका लागि सरकारले व्यवसायीमैत्री कानून ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशकै ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको उक्त अटो शोमा विभिन्न ब्रान्डका चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा कमर्शियल सवारी साधनका साथै अटो एसेसरिज, लुब्रिकेन्ट, टायर तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । यस अटो शोले अटो व्यवसाय प्रवद्र्धन, आधुनिक प्रविधिको जानकारी आदानप्रदान, क्षेत्रीय बजार विस्तार तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको अटो शो संयोजक शिव श्रेष्ठले बताउनुभयो ।




