पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, प्रतिशोध होइन गृहमन्त्री गुरुङ

-


     पोखरा क्लिक     
     चैत्र १४ गते २०८२ मा प्रकाशित


काठमाण्डौं,

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङले यो कदम प्रतिशोध नभई “न्यायको सुरुआत” भएको स्पष्ट पार्नुभएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा प्रहरीले आज बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको श्रोेतको भनाई छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुखका अनुसार प्रहरी टोली बिहान करिब ५ बजे भक्तपुरको सूर्यविनायकस्थित निवासमा पुगेर दुवै नेताहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत कानुन सबैभन्दा माथि कोही नरहेको उल्लेख गर्दै पूर्वउच्च पदमा बसेका व्यक्तिहरू पनि अनुसन्धानबाट बाहिर नहुने बताउनुभयो । उहाँले यसलाई कुनै राजनीतिक प्रतिशोध नभई विधि र न्यायको प्रक्रिया अगाडि बढेको रूपमा व्याख्या जनाउनु भएको छ । वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो आयोग, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको थियो ।

आयोगले भदौ २३ गते बानेश्वर क्षेत्रको प्रदर्शनका क्रममा भएको गोलीकाण्डमा राज्य पक्षबाट लापरवाही भएको ठहर गर्दै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतमाथि फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१, १८२ र १८३ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा दुवै जनालाई पक्राउ गरेको जनाएको छ । प्रतिवेदनमा आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलेपछि लामो समयसम्म नियन्त्रण नगरेको अवस्थालाई ‘गम्भीर हेलचेक्र्याइँ’ भन्दै जिम्मेवार पदाधिकारीहरूको भूमिका प्रश्नमा परेको उल्लेख गरिएको छ । गृहमन्त्री गुरुङले अब देश विधि र न्यायको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्दै अनुसन्धान निष्पक्ष र कानुनअनुसार अगाडि बढाइने बताउनुभएको छ । एमालेका नेता कार्यकर्ता एवं कागेंसका केही नेता कार्याकर्ताले प्रतिसोधको राजनीतिक भएको भन्दै गृहमन्त्री बिरुद्ध नारा जुलुस प्रर्दशन गर्दै गृहमन्त्रीको राजीनामा समेत माग गर्नु भएको छ ।