धार्मिक पदमार्ग विकासमा मन्त्री पौडेलको जोड, “म आफैँ लेखक र पदयात्री, समस्यासँग परिचित छु”

-


     पोखरा क्लिक     
     चैत्र १३ गते २०८२ मा प्रकाशित


पोखरा,

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस) ले पद बहालीसँगै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो।

वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पद बहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। “पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो। म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग नजिकबाट परिचित छु,” मन्त्री पौडेलले भन्नुभयो, “अब हामीले जनहितलाई केन्द्रमा राखेर मुलुकको समृद्धिको यात्रालाई तीव्रता दिनुपर्छ।”

उहाँले नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय मुलुकका रूपमा विकास गर्ने योजना अघि सार्दै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिने बताउनुभयो। साथै, हरेक धर्मसँग जोडिएका पदमार्गहरूको विकास गर्ने स्पष्ट योजना रहेको जानकारी दिँदै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री पौडेलले आगामी पाँच वर्ष सहकार्य, समन्वय र पारदर्शिताका आधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि प्रकारको प्रलोभनमा नपर्ने स्पष्ट पार्नुभयो। “सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्, कामको मूल्याङ्कन योग्यता ९मेरिटोक्रेसी० का आधारमा हुनेछ,” उहाँले भन्नुभयो, “हामी कर्मचारीजस्तो मात्र होइन, देश निर्माणका अभियन्ताका रूपमा काम गर्नुपर्छ।”

पर्यटन क्षेत्र सुधारका लागि उहाँले हवाई सम्पर्क विस्तारलाई उच्च प्राथमिकतामा राख्नुभएको छ। नेपाल वायुसेवा निगमका जहाज थप्ने, अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तार गर्ने तथा पर्यटन बोर्डको पुनर्संरचना गरी निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने योजना अघि सारिएको छ। साथै, पर्यटन पूर्वाधारमा लगानी वृद्धि गर्ने, सम्पदाहरूको दृश्य माध्यममार्फत प्रवर्द्धन गर्ने र मन्त्रालय तथा मातहतका निकायमा पारदर्शिता कायम गर्ने विषयमा आफू प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयको वर्तमान अवस्था, नीतिगत संरचना र आगामी योजनाबारे संक्षिप्त जानकारी गराउनुभएको थियो। मन्त्री पौडेलको भनाइ र योजनाले पर्यटन क्षेत्रलाई अनुभव, दृष्टि र कार्यान्वयनको संयोजनमार्फत अगाडि बढाउने संकेत गरेको छ।