समिभञ्ज्याङ चैते दशैँको अवसरमा आयोजित हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि गोर्खाका निरज भट्ट क्षेत्रीलाई

-


     पोखरा क्लिक     
     चैत्र १२ गते २०८२ मा प्रकाशित


१२,चैत्र, पोखरा

लमजुङको समिभञ्ज्याङमा चैते दशैंको अवसर पारेर आयोजित हाफ अल्ट्रा म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। २५ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

मध्यनेपाल नगरपालिका–५ स्थित समिभञ्ज्याङमा सम्पन्न प्रतियोगितामा गोरखाका धावक निरज भट्ट क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भए। उनले २१ किलोमिटर दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। विजेता क्षेत्रीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसअघि पनि उनले डेढ बर्ष अघि प्रथम पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि जितिसकेका छन्।प्रतियोगितामा रामेछापका श्याम लामा भोटे १ घण्टा ३४ मिनेट २८ सेकेन्डका साथ दोस्रो हुँदै २५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए भने स्याङ्जाका धनु मानन्धर १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरी १५ हजार रुपैयाँसहित सम्मानित भए।

त्यस्तै तनहुँका सनम गुरुङ, रामेछापका अमित राई, सोलुखुम्बुका मिलन कुलुङ, भोजपुरका उमेश बिष्ट, तनहुँका आदित्य जिसी र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कारस्वरूप जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। वडा नं। ७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरबाट सुरु भएको दौड भोर्लेटार हुँदै समिभञ्ज्याङका विभिन्न बस्ती पार गर्दै तान्द्राङकोट नागभैरव थानमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा करिब ८० जना धावकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिबन काटेर गरेका थिए। उनले यस्ता खेलकुद गतिविधिले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षता तथा वडा नं। ५ का अध्यक्ष ओमवीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तान्द्राङकोट क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे पनि जानकारी गराइएको थियो।

समुन्द्री सतहदेखि करिब १५०० मिटर उचाइमा अवस्थित यो क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको आयोजकहरूले बताएका छन्। साथै प्रतियोगितामा योगदान पुर्‍याउने रेफ्री विश्वास के।सी। र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो। समग्रमा, खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता सफल र प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।