राजकाजी गुरुङ ‘करण’को चुनावी खर्च करिब १२ लाख

-


     पोखरा क्लिक     
     चैत्र ४ गते २०८२ मा प्रकाशित


राजकाजी गुरुङ ‘करण’ले प्रतिनिधिसभा निर्वाचनका लागि करिब ११ लाख ९० हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्नुभएको छ। उहाँले उक्त खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको श्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङ कास्की क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको थियो। उहाँले चुनावी अभियानका विभिन्न शीर्षकमा खर्च गर्नुभएको छ। उहाँको विवरण अनुसार मनोनयन दर्तामा १० हजार, प्रचार सामग्रीमा १ लाख ५० हजार, सवारीसाधन भाडामा ३ लाख ५० हजार, घरदैलो कार्यक्रममा ३ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गर्नु भएको हो। त्यस्तै, सम्पर्क कार्यालय भाडामा ४५ हजार, कर्मचारीमा २० हजार, डिजिटल प्रचारमा १ लाख, साउण्ड सिस्टममा ५० हजार, खाना तथा खाजामा १ लाख ५० हजार र चुनावी गीत निर्माणमा १५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुरुङले २ हजार ४७९ मत प्राप्त गर्नुभएको थियो। सोही क्षेत्रमा भने रास्वपाका गनेस पौडेल विजयी हुनुभएको थियो । एमालेका बैनबहादुर अधिकारी र काँगे्रसबाट तिलक रानाभाटले उम्मेदवारी दिनु भएको थियो । पौडेलले ३९ हजार ८८३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रानाभाटले ११ हजार २१४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अधिकारीले १० हजार ४२९ मत ल्याउनु भएको थियो । राप्रपाका बाबुराम थापाले ९७८ मत ल्याउनु भएको थियो ।