
पोखरा,
गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ खेल पोशाक सार्वजनिक गरेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा बुधबार आयोजित एक समारोहका बिच उक्त पोशाक सार्वजनिक गरेसंगै खेलाडीहरूलाई हस्तान्तरण समेत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले पोशाक सार्वजनिक गर्दै पोखरालाई खेलकुदको ‘स्पोर्ट्स हब’ का रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले छिट्टै ‘पोखरा कप अन्तर–महानगर क्रिकेट च्याम्पियनसिप’ आयोजना गरिने घोषणा गर्नुभयो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्मा ले खेलाडीहरूको सीप विकास र आवश्यक पूर्वाधार निर्माणमा क्यानले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिनुभयो। यसैगरी, खुमा फाउन्डेशन का अध्यक्ष लेखनाथ शर्मा ले खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने बताउनु भयो ।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेश टोली अब एक सातापछि सुरु हुने केन्द्रीयस्तरको पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीमा रहेको अध्यक्षच सिग्देलले जनाउनु भयो । प्रारम्भिक रूपमा २७ जना खेलाडीलाई क्लोज क्याम्पमा राखिएको छ भने प्रदर्शनका आधारमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरिने उहाँले जनाउनु भयो । पिएम कप प्रदेश स्तरिय छनौट क्रिकेट हालै पोेखरामा सम्पन्न भएसंगै कास्की च्याम्पियन भएको थियो ।






