
दीननाथ बराल,
पोखरा,२४ फागुन,
देशै भरी रास्वापाको वर्चश्व कायम गर्दा त्यसको प्रभाव कास्की क्षेत्रमा पनि पर्यो । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुदाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउन सफल भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको मत परिणामअनुसार रास्वपाले करिब ६० प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा आउन सफल भएको हो ।

निर्वाचन कार्यालयका अनुसार कास्कीका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ कुल १ लाख ९१ हजार ४२५ मत खसेको थियो । तीमध्ये रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत (५९.३४ प्रतिशत) प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र्रनाथ न्यौपानले पोखराक्लिकलाई जनाउनु भयो । समानुपातिक मततर्फ काँगेंसले २८ हजार ६ सय ५६ मत (१४.९४ प्रतिशत) सहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले २४ हजार १ सय ९९ मत (१२.६४ प्रतिशत) प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । त्यसैगरी राप्रपाले ६ हजार ४ सय ६६ मत (३.३८ प्रतिशत) प्राप्त गरी चौथो स्थानमा रहेको छ भने नेकपाले ५ हजार ७ सय ६३ मत (३.०१ प्रतिशत) प्राप्त गर्दै पाँचौँ स्थानमा पुगेको छ। यसैगरी श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ६४ मत (१.८६ प्रतिशत) प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी न्यौपानेले जनाउनु भयो । कास्कीका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ ५७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए। तीमध्ये सबैभन्दा कम मितेरी पार्टी नेपालले प्राप्त गरेको छ, जसले जम्मा ३ मत पाएको छ ।

निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फ ४ हजार ६ सय ९८ मत (२.४५ प्रतिशत) बदर भएको छ । जिल्लामा कुल ३ लाख ९ हजार ५ सय ६३ मतदाता रहेका थिए। समानुपातिकतर्फ कास्कीमा २ मतदान केन्द्र कास्की कारागार र जिल्ल समन्वय समितिमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा रहेको निर्वाचन कास्कीमा शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएकोमा सारोकारवालाहरुलाई धन्यावद ज्ञापन गर्नु भएको छ । राजनीतिक दल, प्रशासन र सुरक्षा निकायबीचको समन्वयका कारण निर्वाचन सफल भएको उहाँको भनाई छ ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेका अनुसार प्रत्यक्षतर्फ ३.९० प्रतिशत र समानुपातिकतर्फ २.४९ प्रतिशत मत बदर भएको छ । यसले मतदाता शिक्षामा अझै सुधार आवश्यक रहेको उहाँले बताउनु भयो । प्रत्यक्षतर्फ १ लाख ८८ हजार ७६ मत खसेको थियो। कुल मतदाता संख्या ३ लाख ८ हजार ५ सय ७२ रहेकोमा १ लाख ८० हजार ७ सय ३४ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार विजयी भइसकेका छन्। गनेस पौडल कास्की–१, उत्तम पौडेल कास्की–२ र बिना गुरुङ कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।




