एमालेको गढ भत्काउँदै रास्वपाकी नेतृ बिना गुरुङ विजयी, जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने प्रतिबद्धता (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २३ फागुन

कास्की निर्वाचन क्षेत्र नं। ३ मा नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतअन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

निर्वाचन कार्यालयका अनुसार विजयी गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ। उहाँ यसअघि यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। पौडेलले निर्वाचित गुरुङलाई माला लगायर बधाई ज्ञापन गर्नु भएको थियो । केहीले सहकारी पिडितहलाई तत्काल राहत दिन माग गर्दै स्वदेशमै केही गर्ने वातावरण सृजना गरी विदेश जाने युवालाई रोक्न तथा फर्कीने गरी नीति योजना एवं कार्यक्रम ल्याउन माग गनुर्् भयो ।

यस्तै, नेकपाका उम्मेदवार गोपाल गिरीले १ हजार ४ सय ५६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार अर्जुन खनालले १ हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ। विजयी भएपछि आयोजित कार्यक्रममा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासे र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिना गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै फुलमाला सहित बधाई ज्ञापन गर्नुभएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले पोखराक्लिकलाई बताउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित सांसद गुरुङले जनताले दिएको मतको सम्मान गर्दै जनताका गुनासा र समस्यालाई गम्भीरतापूर्वक अध्ययन गरी संसदमा उठान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने बताउँदै जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्ने बताउनुभयो। गुरुङले आफ्नो पहिलो कामका रूपमा जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा शहिद भएका व्यक्तिहरूका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। जनताको मतको कदर गर्दै विकास, सुशासन र जनअपेक्षा अनुसार काम गर्ने उहाँको प्रतिबद्धता छ। कास्की निर्वाचन क्षेत्र नं। ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेका थिए। तीमध्ये ६०.८१ प्रतिशत अर्थात् ६५ हजार ४ सय ७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।