पोखरा ड्यामसाइड खोलामा घाटीमा गहिरो चोट सहित सुटकेसमा महिलाको शव भेटियो

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १७, फागुन

पोखरा महानगरपालिका–६ ड्यामसाइड क्षेत्रस्थित खोलामा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

आज बिहान करिब ८ बजे तिर स्थानीयले नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखेपछि बैदाम वडा प्रहरी कार्यालय लाई खबर गरेका थिए। सूचनापछि पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रारम्भिक अवलोकनमा मृतकको घाँटीमा गहिरो चोट देखिएको छ। “घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौँ, विस्तृत विवरण पोष्टमार्टमपछि खुल्नेछ,” उनले बताए।

शव हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ। मृतकको सनाखत हालसम्म हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ।

घटनापछि ड्यामसाइड क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले घटनाको तथ्य पत्ता लगाउन अनुसन्धान तीव्र बनाएको जनाएको छ।