ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योगलाई परम्परागत शैलीबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने योजना छः स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइरालासंग

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


पोखरा,

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालाले ‘विज्ञानबाट विकास’को स्पष्ट कार्यदिशा सहित पोखरा महानगरपालिका अन्तर्गतका ११ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

चुनाव चिन्ह मसी लिएर मैदानमा उत्रिएका डा. कोइरालाले “पाँच वर्षमा पाँच काम” को प्रतिबद्धता सार्वजनिक गर्दै ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योग क्षेत्रलाई परम्परागत ढाँचाबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने दीर्घकालीन योजना अघि सारेका हुन् । उनले वैज्ञानिक क्रान्ति मार्फत देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजान वैज्ञानिक ढंगले संविधान संशोधन, आवश्यक कानुन तथा नीति–नियम निर्माण गर्ने मिशनसहित आफू “संविधान मिस्त्री”को भूमिकामा काम गर्ने बताएका छन्। स्वदेश तथा विदेशमा विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित डा.कोइराला विश्वका शीर्ष २५ वैज्ञानिकको सूचीमा सूचीकृत व्यक्तित्वका रूपमा परिचित छन्।

घरदैलो अभियानका क्रममा उनले मतदाताको घरमै पुगेर स्थानीय जनभावना, समस्या र अपेक्षाबारे प्रत्यक्ष संवाद गर्दै समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्‍याए। “नीति निर्माणमा विज्ञानको प्रयोग भए मात्रै दीगो विकास सम्भव हुन्छ,” उनले भने, “स्थानीय स्रोत, सीप र क्षमतालाई राष्ट्रिय शक्तिमा रूपान्तरण गर्नु नै मेरो लक्ष्य हो।” उनको चुनावी एजेन्डाको मुख्य आधार ‘विज्ञानबाट विकास’ रहेको छ। कृषि उत्पादनमा प्रविधिको प्रयोग, स्वच्छ ऊर्जा विस्तार, सीपमूलक र अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री उद्योग स्थापना तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना उनले अघि सारेका छन्। डा. कोइरालाले आफ्नो चुनाव चिन्ह मसीलाई ज्ञान, विवेक र सफलताको प्रतीकका रूपमा व्याख्या गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्षम, जिम्मेवार र वैज्ञानिक सोच भएको नेतृत्वलाई संसदमा पुर्‍याउन मतदातासँग अपिल गरेका छन्।