कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन्छौंः मन्त्री थापा

-


     पोखरा क्लिक     
     फागुन १२ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीको दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिने बताएका छन् ।

कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको उल्लेख गरे । यी योजनालाई संघीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्न सक्षम र अनुभवी नेतृत्व आवश्यक छ, जसका लागि नेपाली काँग्रेसका उपयुक्त उम्मेदवार भएको उनले दाबी गरे ।

मन्त्री थापाका अनुसार कास्कीका विभिन्न वडामा विद्यालय पूर्वाधार सुदृढीकरण, खेलमैदान स्तरोन्नति, स्वास्थ्य संस्थामा सेवा विस्तार तथा युवालाई लक्षित सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ। “प्रदेशले थालेका योजनालाई संघीय सरकारसँग समन्वय गरी अझ ठूलो आकारमा लैजान सक्ने प्रतिनिधि आवश्यक छ,” उनले भने । उनले कास्कीको समृद्धि यात्रामा राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण र विकासप्रति इमान्दार प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले परिवर्तन र सुशासनको मार्गचित्र प्रस्तुत गरेको बताए । “कास्की २ लाई समुन्नत, व्यवस्थित र अवसरले भरिपूर्ण बनाउन काँग्रेस नेतृत्व अपरिहार्य छ”, मन्त्री थापाको भनाई छ ।

उनले मतदातासँग अपिल गर्दै फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराई कास्कीको विकास अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । “प्रदेश सरकारले अघि सारेका योजनालाई सफल पार्न संघ र प्रदेशबीच सहकार्य जरुरी छ। त्यसका लागि कास्कीमा काँग्रेसको जित आवश्यक छ,” उनले स्पष्ट पारे । विभिन्न स्थानमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत काँग्रेस उम्मेदवारहरुले विकास, सुशासन र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । मन्त्री थापाको सक्रिय समर्थन र अपिलसँगै कास्कीमा काँग्रेसको अभियान थप प्रभावकारी भएको कागेंसले दाबी गरेको छ ।