
पोखरा,
कास्की क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने स्पष्ट पारेकी छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या सुन्ने र नीतिगत तहबाट समाधान खोज्ने अभियानमा सक्रिय गुरुङले हेमजासहित विभिन्न स्थानमा मतदातासँग छलफल गरेकी हुन् ।
आइतबार पुरुन्चौर र सोमबार हेमजामा मतदातासँग भेटघाट गर्दै गुरुङले राष्ट्रिय नीति निर्माणदेखि स्थानीय समस्या समाधानसम्मका विषयमा संवाद गरिन् । आलु तथा तरकारी उत्पादनको पकेट क्षेत्र हेमजाका स्थानीयले कृषिको आधुनिकीकरण र बजारीकरणका नाममा गरिएका प्रतिबद्धता कार्यान्वयन नहुँदा निराशा व्यक्त गरे । किसानका उत्पादनमा अझै पनि विचौलियाको प्रभाव रहेको गुनासो उनीहरूले गरे । स्थानीयका सुझावलाई सम्बोधन गर्दै गुरुङले कृषियोग्य भूमि र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न नीतिगत पहल आवश्यक रहेको बताइन् ।
हेमजामा वार्षिक करिब २५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने उल्लेख गर्दै उनले पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउन यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् । कुनै व्यक्तिगत स्वार्थले राजनीति नगरेको स्पष्ट पार्दै गुरुङले सुशासन, महिला सशक्तीकरण, सामाजिक न्याय र माटो सुहाउँदो विकासका लागि संसद्मा आवाज उठाउने प्रतिवद्धता जनाइन् ।



