
दीननाथ बराल,
पोखरा, ११ माघ,
राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्दनका दुई जना विजयी हुनु भएको छ । आइतबार पोखरामा भएको मतदानबाट ‘अन्य समूह’तर्फ नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले) का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको हो ।

तनहुँका प्रा.डा. जगत तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दै विजयी हुनुभयो भने उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबाट १ सय ३१ मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धान्दी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनाङका कपिल लामाले ९ सय ४१ मतभार प्राप्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले भने ७६ मतभार प्राप्त गर्नुभयो । तनहुँको शुक्लागण्डकी स्थायी घर हुनु भएका तिमिल्सिना लामो समयदेखि त्रिभूवन विश्वविद्यालयको शैक्षिक तथा साङ्गठनिक राजनीतिमा सक्रिय हुनुहुन्छ ।
एमालेकी उम्मेदवार सम्झना देवकोटाले ५ हजार १४ मतभार प्राप्त गरी विजयी हुनु भयो । । उहाँले स्थानीय तहका जनप्रतिनिधिबाट १ सय ३० मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गर्दा जनमोर्चाकी लक्ष्मी वास्कोटाले ७६ मतभार प्राप्त गर्नुभयो । गोरखा नगरपालिका–३ नारेश्वरकी देवकोटा २०४० सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्दै आउनु भएको छ । उहाँ २ वर्ष अघिको राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनु भएको थियो ।
निर्वाचनमा प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको एक मत बराबर १९ मतभार कायम गरिएको थियो । अन्य समूहमा २ प्रदेश सांसद र १ स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिला समूहमा २ प्रदेश सांसद र २ स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कुल २ सय २८ मतदाता रहेकामा २ सय २३ जनाले मात्र मतदान गरेका थिए । ६० जना प्रदेश सांसदमध्ये राप्रपाका २ सांसद मतदानमा अनुपस्थित रहे भने स्थानीय तहका ३ जना प्रमुख तथा उपप्रमुखले पनि मतदान गरेनन् । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कारण मतदानमा सहभागी हुनुभएन । मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा बिरामी भएका र वालिङ नगरपालिकाकी उपमेयर कविता तिवारी हाल विदेशमा रहेकाले मतदानमा सहहभागि हुनु भएन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सांसद फणीन्द्र देवकोटाले मतपत्र खाली छोड्दै कसैलाई पनि समर्थन नरहेको संकेत गर्नुभयो । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन गरिएको हो । खुला समूहबाट नारायणकाजी श्रेष्ठ र महिला समूहबाट भगवती न्यौपानेको ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।
दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान गरेनन् । गण्डकी प्रदेशमा ६० जना प्रदेश सांसद र ८५ स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी १७० जना मतदाता रहनु भएको थियो । प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) अहिले जेलमा भएकाले उहाँको मतदाता नामावलीमा नाम समावेश थिएन । ५९ जना प्रदेश सांसद मतदाता रहेकोमा राप्रपाका पञ्चराम गुरुङ र बिन्दुकुमारी पौडेल मतदानमा अनुपस्थित हुनुभयो ।






