
पोखरा, २७ मंसिर,
पोखराको ड्यामसाइड क्लबको आयोजनामा भोलि (आइतबार) पोखराको ड्यामसाइड स्थित माछापुच्छ«े प्रतिबिम्ब पार्कमा खुल्ला विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताउनुभयो।
प्रतियोगितामा विभिन्न बिद्यालयका करिब ४० जना प्रतियोगिहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । उक्त पार्कमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा करिब २ घण्टा जसो प्रतियोगीहरूले विभिन्न कलाकृतिमा चित्रहरू कोर्ने भएको अध्यक्ष बरालले जनाउनुभयो।
त्यसैगरी कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल रहनुहुने आयोजकले जनाएको छ । प्रतियोगिातमा विजेताहरुलाई आकर्षक नगद पुरस्कार समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक सन्ध्या श्रेष्ठले बताउनुभयो । पोखराको ड्यामसाइड क्लबले फुटबल विकासदेखि लिएर विभिन्न खेलक्षेत्र त्यसैगरी साहित्य कला लगायतका विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिदै आएको पूर्व अध्यक्ष पदम ढकालले बताउनु भयो ।



