
पोखरा, मंसिर २०,
गुप्तेश्वर महादेवबहुमुखी क्याम्पसका व्यवस्थापन संकाय (एमबिएस) दोस्रो तथा चौथो सेमेस्टरकाविद्यार्थीहरूले पोखरा–२२, पुम्दीभुम्दी मा अवस्थित कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे क्षेत्रमा अध्ययन अवलोकन भ्रमण शनिबार सम्पन्न गरेका छन्।व्यवहारिक सिकाइका लागि आयोजना गरिएको भ्रमण मार्फत विद्यार्थीहरूले सामुदायिक पर्यटन, स्थानीय गतिविधि तथा होमस्टे सञ्चालनबारे प्रत्यक्ष अनुभव हासिल गरेका छन् ।

कालाबाङ्ग सामुदायिक होमस्टे घर नं. १ का सञ्चालक दम्पती नन्दा गुरुङ र रविन्द्र गुरुङले होमस्टेको स्थापना पृष्ठभूमि, संचालन प्रक्रियाका बारे जानकारी दिदै हाल १८ घरधुरी होमस्टे संचालन रहेको र यसमा मुख्यतः गुरुङ, ब्राह्मण र दलित घरधुरीहरु रहेको बताउनुभयो । होम स्टे संचालक नन्दा गुरुङ भन्नुहुन्छ, ‘अहिले हामीलाई भ्याइनभ्याइ छ, हप्ता दिन अघि नै घर बुकिङ हुन्छ, फुर्सद नै पाइदैन । यहाँ पोखरा आसपासका जिल्ला सँगै विदेशीहरु पनि बस्न आउँछन् । यहाँको आतिथ्यतामा रमाउँछन् । हामी यसैमा सन्तुष्ट छौँ ।’
सामुदायिक होमस्टे सञ्चालनले स्थानीय क्षेत्रमा रोजगारी वृद्धि, आय–आर्जन विस्तार, पर्यटक आकर्षण तथा सांस्कृतिक जगेर्नामा महत्वपूर्ण योगदान पुगिरहेको उहाँको भनाई छ । त्यस्तै अर्का होमस्टे संचालक एवं एमबिएस दोस्रो बर्षमा अध्ययनरत सुजन पौडेल परिवार सँगै यस व्यवसायमा क्रियाशिल हुनुहुन्छ । अध्ययन सँगै आफ्नो उद्यमशीलतालाई पनि साथै लैजानु एउटा व्यवहारिक पक्ष रहेको उहाँको बुझाई छ । यसले युवाहरुलाई स्थानीयस्तरमा थप जिम्मेवार र व्यवहारिक बनाउनुका साथै स्वदेशमै रहेका अवसरहरुलाई सदुपयोग गर्न थप हौसला दिने पौडेल बताउनुहुन्छ ।
त्यसैगरी गुप्तेश्वर क्याम्पसका आई.क्यू.ए.सी.प्रमुख राजकुमार सुवेदीले विद्यार्थीहरूको सीप र बुझाइ विस्तारमा यस्ता अध्ययन अवलोकनगतिविधि आवश्यक रहेकोे बताउनुभयो । कक्षामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक परिवेशसँग जोड्न यस किसिमका कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई थियो । भ्रमणमा सहभागी विद्यार्थीहरूले पोखराबाट नजिक रहेको यस होम स्टे सामुदायिक पर्यटन, स्थानीय उद्यमशीलता र विकास मोडलको उदाहरण रहेको प्रतिक्रियादिएका छन्। विद्यार्थीहरुले भ्रमणका क्रममा कालाबङ्ग होम स्टेबाट करिब १० मिनेटको दुरीमा रहेको बिशाल बुद्ध पार्कको पनि अवलोकन गरेका छन् ।
उक्त पार्कबाट माछापुच्छ्रे हिमालशृङ्खला, पोखरा उपत्यका, फेवाताल, सराङकोट तथा नजिकका क्षेत्रहरुको समेत दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो समय पोखराको घुम्न पर्ने स्थानको रुपमा यस बुद्ध पार्कलाई समेत लिइन्छ । जहाँ सार्वजानिक विदाको समय सयौँको संख्यामा पर्यटकहरु घुम्न आउने गर्दछन् । त्यस्तै होमस्टेमा आउने पाहुनाहरूलाई परम्परागत र गाउँ जस्तो वातावरण, स्थानीय खाना, सांस्कृतिक अनुभव र प्राकृतिक सुन्दरता प्रदान गर्नुका साथै गुरुङ समुदायको साँस्कृतिक भेषभुषा अहिले मुख्य आर्कषण नै बनेको छ ।





