
दीननाथ बराल,
पोखरा ८, मंसिर,
देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण आउदो माघ अन्तिम सातादेखि पोखरामा हुने भएको छ । सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको तालिकाको आधारमा तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनुभयो । यसपटक रजत वर्ष रहेकोले ए–डिभिजन, विभागीय, आयोजक तथा अन्तर्राष्ट्रिय गरी १० टिम सहभागी हुने गरी क्लवले तयारी गर्दैछ । पोखरा महानगरसँग भगिनी–सम्बन्ध भएका विभिन्न देशका शहरका फुटबल टिम समेत बोलाउने सम्भावनाबारे पनि छलफल भइरहेको अध्यक्ष थापाले बताउनुभयो । “आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित बालकका लागि निरन्तर चल्दै आएको अभियान हो,” उहाँले भन्नुभयो, “यस वर्ष पनि सबैको साथ–सहयोगको अपेक्षा राखेका छौँ, यो पोखरेलीको ब्राण्ड हो यसको व्यबस्थापन पक्ष मात्र हामीले गरेका हौ ।”
मुख्य प्रायोजकको प्रतिबद्धता
मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले गोल्डकपसँग आफ्ना दिवंगत बुवाको आत्मीय सम्बन्ध रहेकाले प्रायोजन निरन्तरता पाउने विश्वास दिलाउनुभयो । क्लवले उदाहरणीय कार्य गर्दै अघि बढेकोले क्लवका हरेक गतिविधिमा आफुहरुको साथ र सहयोग हुने उहाँको भनाई थियो । सो अवसरमा पोखरा–९ का अध्यक्ष दिपेन्द्र मर्सानीले प्रतिष्ठित कार्यक्रमहरूले पोखराको पहिचान बढाएको उल्लेख गर्दै गोल्डकपको प्रभाव थप फैलनुपर्ने सुझाव दिनुभयो । पोखराको नाम बेचेर केहीले खेलकुदको विकास भन्दा आर्थिक लाभ लिएको बताउनु भयो । गोल्डकपलाई भव्य रूपमा सफल बनाउन तयारी भइरहेको महासचिव गंगाराज पौडेलले बताउनुभयो ।
च्यारिटी डिनर नाइटबाट २४ लाख आम्दानी, १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत
सहारा क्लबले कात्तिक १४ गते आयोजना गरेको च्यारिटी डिनर नाइटबाट उल्लेखनिय रुपमा आम्दानी गर्न सफल भएको क्लबले जनाएको छ । बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङका अनुसार कार्यक्रमबाट २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भयो । कार्यक्रम सञ्चालन खर्च ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ बसेको र १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत भएको क्लबले जनाएको छ ।
अध्यक्ष थापाका अनुसार च्यारिटी डिनरबाट बचेको रकम सहारा एकेडेमीमा आश्रित विपन्न बालकको शिक्षादिक्षा, बसोबास र हेरचाहमा खर्च हुनेछ । हाल एकेडेमी सञ्चालनमा वार्षिक झन्डै ४२ लाख रुपैयाँ खर्च हुने जानकारी उहाँले दिनुभयो । क्लबद्वारा स्थापना गरिएको अक्षयकोषमा ३ करोड ४७ लाख रुपैयाँ रहेको पनि बताइयो ।
केसी परिवार र हिमश्री फुड्सको निरन्तर सहयोग
स्व.सूर्यबहादुर केसी परिवार तथा केसी ग्रुपले सहारा एकेडेमीका लागि वार्षिक १५ लाख रुपैयाँ सहयोग गर्दै आएका छन् ।
हिमश्री फुड्सकी अध्यक्ष प्रेमकुमारी केसी सहित प्रकाश, रोशन र किरण केसी तीन दाजुभाइको निरन्तर पहलले क्लबका सामाजिक गतिविधि अघि बढिरहेको क्लबले जनाएको छ ।
च्यारिटी अभियानमा अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा यूकेबाट १ लाख, मानार्थ सदस्य दिलिप गुरुङ ९ःद्यभ्० बाट ५१ हजार, सल्लाहकार टिका बहादुर कार्कीबाट ५१ हजार, सदस्य चन्द्र बहादुर गुरुङबाट ५१ हजार, सह–कोषाध्यक्ष विष्णु गुरुङबाट ५० हजार सहयोग प्राप्त भएको थियो ।
टिकटबाट मात्रै १० लाख ८७ हजार आम्दानी
कार्यक्रमका लागि प्रति व्यक्ति टिकट २ हजार ५०० रुपैयाँ तोकिएको थियो । टिकट बिक्रीबाट १० लाख ८७ हजार ५ सय रुपैयाँ, नगद सहयोगबाट १० लाख ८९ हजार ६ सय ७७ रुपैयाँ उठेको थियो । यसर्थ २ लाख ४२ हजार रुपैयाँ हाल उठ्न बाँकी रहेको क्लबले जनाएको छ ।
खाजा तथा खानामा मात्र ५ लाख ८३ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालिकहरु रहेको पूर्व अध्यक्ष बिक्रम थकालीले पाखराक्लिकलाई बताउनु भयो । क्लवले पोखरा १७ दोभिल्लामा २६ रोपनी क्षेत्रफलमा हाल फुटवल खेल मैदान सहितको एकेडेमी संचालन गर्दै आएको छ ।




