
दृष्टिविहिन क्रिकेटमा पहिलोपटक आयोजित महिला टी–२० विश्वकपको उपाधि भारतले जितेको छ भने नेपाल उपविजेता भएको छ। आइतबार कोलम्बोमा सम्पन्न फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको भारतले खेलभर दबाबमा राख्यो। नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११४ रन मात्रै जोड्न सक्यो। लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेटको क्षतिमा १ सय १७ रन जोड्दै उपाधि आफ्नो नाममा लेखायो। नेपालतर्फ प्रारम्भिक विकेट छिट्टै गुमाउँदा खेल ढल्कियो। कप्तान विनिता पुन ४ रनमै रनआउट हुँदै फर्किइन् भने मनकेसी चौधरी पनि ८ रनमै आउट भइन्। विमला राई २६ र सरिता घिमिरे ३३ ले साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेनन्।
भारतका करुणा कुमारी ४२ र सुरेन ४४ को उत्कृष्ट प्रदर्शनले टिमलाई सहज जित दिलायो। नेपालको सरिता घिमिरेले दुई रनआउटका रूपमा चम्किएकी थिइन्। विश्वकपमा नेपालसहित सात देश सहभागी थिए । कार्तिक २७ देखि सुरु भएको प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो पटक आयोजित फाइनलसम्मको यात्रा तय गरेको हो।






