पोखरामा युवा पत्रकारलाई दुव्यवहार गर्ने म्यानपावर कम्पनी उपर कारबाहीको माग

-


     पोखरा क्लिक     
     मंसिर ५ गते २०८२ मा प्रकाशित


मंसिर ५, पोखरा,

पोखरास्थित एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.को शाखा कार्यालयमा पुगेका पत्रकारहरू माथि गरिएको दुव्यवहारको घटनाप्रति पत्रकारका विभिन्न संघ संगठनहरुले आपत्ति जनाउँदै दोषी उपर कडा कारबाही गर्न माग गरेका छन् ।

विदेशमा रोजगारीको सम्झौता अनुसारको काम तथा पारिश्रमिक नपाएको पिडित पक्षले पत्रकार सामु गुनासो गरेपछि पत्रकारहरुले कम्पनीको प्रतिक्रिया लिन गत मंसिर १ गते कार्यालय पुगेका थिए । प्रतिक्रिया लिन पुगेका प्रेस सेन्टर नेपाल कास्कीका सह–सचिव अर्जुन हिताङ, ढोरपाटन दैनिकका विजय नेपाली, मेरोसाथी टिभीका सुरेश सुनार र विष्णु विश्वकर्मालाई करिब तीन घण्टा बन्धक बनाएर धरपकड गरिएको आरोप छ।

प्रेस सेन्टर नेपाल कास्की शाखाले यस्तो कार्य प्रेस स्वतन्त्रता, पत्रकारिताको मर्यादा र कानूनी प्रथामाथिको खुला चुनौती भएको आरोप लगाएको छ। समाचार सन्तुलित बनाउन आरोपित पक्षको भनाई लिन पुगेका पत्रकारमाथि फोटो–भिडियो डिलिट गराउने, थुनेर राख्ने तथा गलत कामको साक्षी बस्न बाध्य पार्ने जस्ता गतिविधिको संस्था मार्फत घोर निन्दा र भर्त्सना गरिएको कास्की शाखाका अध्यक्ष दीननाथ बरालद्धारा जारी गरिएको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ।

संवाद र कानूनी प्रक्रियाबाट विषय समाधान गर्ने विकल्प हुँदाहुँदै पत्रकारमाथि गरिएको अमानवीय व्यवहारको छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन कास्की शाखाले जोडदार माग गरेको छ। समाजका विकृति–विसंगति उजागर गर्न, समस्यामा परेका नागरिकको आवाज मुखरित गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको भन्दै पत्रकारमाथि हुने यस्ता दुव्यवहार नगर्न नगराउन कास्की शाखाले चेतावनी समेत दिएको छ ।

यसैबीच, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, प्रेस युनियन कास्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायत विभिन्न पत्रकार संघ–संगठनहरूले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन्।

दुव्यवहारमा परेका पत्रकारले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताएका छन्। उजुरीका आधारमा घटनाको सत्य–तथ्य छानविन हुने उनले पोखराक्लिकलाई जानकारी दिए।