
दीननाथ बराल,
पोखरा, ४ मंसिर,
पर्यटनको राजधानि पोखरामा यही मंसिर ६ गते देखि १४ औँ संस्करणको युरोपेली संघ चलचित्र महोत्सव पोखरामा हुने भएको छ । युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदैै यही मंसिर ६ र ७ गते क्युएफएक्स ट्रेड मलमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
यस संस्करणमा २५ चलचित्र प्रर्दशन गरिने भएको छ । १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल गरिने भएको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले बताउनु भयो । यी कृतिले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई केलाएका छन भने यस संस्करणमा सामेल चलचित्रले हिम्मत, स्मृति तथा आशाका साझा सिनेमा–भाषालाई प्रतिबिम्बित गर्ने उहाँले जनाउनु भयो ।
महोत्सवमा पोर्चुगलको ‘बाञ्जो’, फिनल्याण्डको ‘जे’भिदा’, अस्ट्रियाको ‘ह्याप्पी’, हंगेरीको ‘विथआउट एअर’, फ्रान्स तथा इटालीको ‘द गर्ल फ्रम टुमरो’, नेदरल्यान्ड्सको ‘जिप्पी नो मोर’, आयरल्याण्ड–संयुक्त अधिराज्यको ‘लोला’, लिथुएनियाको ‘रिमेम्बर टु ब्लिंक’, पोल्याण्ड–स्विटजरल्याण्डको ‘द लास्ट एक्सपिडिशन’ र रोमेनियाको ‘थ्री किलोमिटर्स टु द एण्ड अफ द वल्र्ड’ प्रदर्शन हुने भएका छन् ।
स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँग सहकार्यमा छनोट गरिएका ९ नेपाली लघुचलचित्र ‘चिसोघर’, ‘अबिस’, ‘अर्केस्टा’, ‘चाँदनी’, ‘इटर्नल किनशिप’, ‘ग्राण्डमाज् म्याजिक कोम्ब’, ‘साइलेन्ट स्कार्स’, ‘द काठमाडौँ’ र ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’ प्रदर्शन गरिने भएको छ ।
बेलायतको बाफ्टा मनोनयन प्राप्त लघुचलचित्रमा ‘आडिओस’, ‘मिल्क’, ‘मग्स क्रिसमस’, ‘रक पेपर सिजर्स’, ‘स्टमक बग’ र ‘वान्डर टु वोन्डर’ प्रदर्शित हुनेछन् । महोत्सव अघिको अवधिमा कला, उद्योग र सिकाइ बीचको सम्बन्धलाई मजबुत बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन हुने भएको छ । यही क्रममा शनिबार ६ दिउँसो २ बजे पोखरामा ‘चलचित्र उद्योगले अब के गर्ने त’ शीर्षकमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । ब्रिटिश काउन्सिलको सहकार्यमा हुने यस छलफलमा गौ माया गुरुङ, जस्सु गुरुङ र प्रविण टक्की कार्की वक्ता रहनु हुने भएको छ भने कार्यक्रम प्रस्तोता सुनिर पाण्डे रहनु हुने भएको हो । वक्ताहरूले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा प्राप्त अनुभवहरू साझा गर्दै पोखरालाई काठमाडौँबाहिरको सक्षम, दिगो र सम्भावनायुक्त चलचित्र केन्द्रका रूपमा कसरी उकास्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गर्नुहुने भएको छ । १० बढी देशका फिल्महरु निःशुल्क प्रर्दशन गरिने भएको महर्जनले पोखराक्किलाई जनाउनु भयो ।




