फिस्टेल ड्रिम पार्कको ३० लाख कित्ता आईपीओ निष्कासन हुने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३ मंसिर,

पर्यटन सहर पोखरामा फिस्टेल ड्रिम पार्क सञ्चालन गर्दै आएको आयु इन्टरटेन्मेन्ट लिमिटेडले सर्वसाधारणका लागि आयोजना गरिएको आईपीओ प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३० लाख कित्ता शेयर सार्वजनिक गर्ने तयारी गर्दै बिक्री व्यवस्थापनको जिम्मा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका गर्नु भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरका शेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा सर्वसाधारणका लागि उपलब्ध गराउने भएको छ । सारथी ग्रुपसहित पोखराका प्रतिष्ठित पर्यटन तथा उद्यमशील समूहको लगानी रहेको फिस्टेल ड्रिम पार्क करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक मनोरञ्जन केन्द्रका रूपमा विकसित हुँदै आएको छ । वाटर पार्क, वेभ पुल, साहसिक खेल तथा अन्य आधुनिक आकर्षणका कारण यो नेपालकै ठूलो मनोरञ्जन पार्कमध्ये एकको रूपमा स्थापित छ ।

गर्मी याममा एक दिनमै २ हजार भन्दा बढी आगन्तुकहरू पार्कमा आउने गरेको सञ्चालक तथा युवा व्यवसायी कमल बस्नेतले बताउनु भयो । करिब ४ वर्षअघि सञ्चालनमा आएको पार्कमा ११ प्रकारका पानीका खेल, इन्डोर गेम, ड्राइ पार्क, लेजी रिभर, सोफा स्लाइड, ट्रोनाडो बावल, रेल आकर्षण लगायतका सुविधाहरू उपलब्ध छन्। पार्कमा एकैपटक ५ हजार जना रमाउन सक्ने क्षमता रहेको बस्नेतले बताउनु भयो ।

हालसम्म पार्कमा ४५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने आगामी चरणमा थप ५५ करोड लगानी गरी पाँच तारे होटल निर्माण गरेर सेवा विस्तार गर्ने परियोजना अघि बढाइने जनाइएको छ । एक अर्ब रुपैयाँको यो विस्तारीकरण योजनासँगै पोखरालाई थप आकर्षक पर्यटन गन्तव्य बनाउने लक्ष्य लिइएको बस्नेतको भनाइ छ । पार्कमा सेफ्टीदेखि सुरक्षा व्यवस्थासम्मका सबै मापदण्ड कडाइका साथ लागू गरिएका छन्, जसले आगन्तुकलाई निश्चिन्त रूपमा मनोरञ्जन लिन सहज बनाउने विश्वास गरिएको उहाँले जनाउनु भयो ।