
दीननाथ बराल,
पोखरा, २ मंसिर,
पर्यटन नगरी पोखराबाट भुटानको राजधानी थिम्पुसम्म सिधा हवाई उडान औपचारिक रूपमा शुभारम्भ भएको छ । भुटान एयरलायन्सले आज (मंगलबार) बाट पोखरा–पारो–थिम्पु उडानको शुभारम्भ गरेसँगै दुई देशबीच को पर्यटन तथा व्यापारिक सम्भावनामा नयाँ ढोका खुलेको छ ।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट खाली आएको भुटान एयरलायन्सको १२६ सिट क्षमताको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु सदस्य सहित पारो हुँदै थिम्पु सुरक्षित अवतरण गराएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी गराउनु भयो । पोखरा विमानस्थलमा केक काटेर उक्त उडान शुभारम्भ गरिएको युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी) ले पोखराक्लिकलाई जनाएको छ ।
यही अवसरमा भुटान एयरलायन्स र नेपालस्थित प्रतिनिधि युटिटीको निमन्त्रणामा भुटान पुग्नु भएको मेयर आचार्यले छिट्टै नियमित उडान सञ्चालन गर्न दुवै पक्षलाई आग्रह गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्राविधिक कारणले पूर्व निर्धारित टोली सहभागी हुन नसके पनि “नियमित उडान अब धेरै ढिला नहुने” विश्वास व्यक्त गर्नुभयो ।अघिल्लो अक्टोबरदेखि सुरु गर्ने योजना नेपालमा भएको जेनजी आन्दोलनका कारण री–सेड्युल भएको र २०२६ अप्रिलदेखि पुनः नियमित उडान सञ्चालन हुने भुटान एयरलायन्सको प्रारम्भिक तयारी रहेको पनि मेयर आचार्यले उल्लेख गर्नुभयो ।
तीन दिनको भुटान बसाइका क्रममा पोखरा–भुटान पर्यटन सहकार्यबारे थप छलफल हुने मेयर आचार्यले उल्लेख गर्दै यो सद्भावना भ्रमणमा पोखरा महानगर तथा नेपाल सरकारको कुनै खर्च नभएको स्पष्ट पार्नु भएको छ । मेयर आचार्यलाई अत्यावसेक कुराकानी गर्नु परेको खण्डमा ह्वाट्स्अफमा कुराकानी गर्न सकिने उहाँको सचिवालयले जनाएको छ ।
भुटान एयरलायन्सले पोखरा–भुटान यात्रुका लागि चार रात पाँच दिनको विशेष ट्राभल प्याकेज केही समय अघि सार्वजनिक गरेको थियो । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले सिधा उडान सुरु हुनु पर्यटन क्षेत्रका लागि उत्साहजनक कदम भएको बताउनु भयो ।



