
पोखरा, २९ कात्तिक,
सयपत्री सहकारी संस्था लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउँदै आफ्नो १६औँ वार्षिकोत्सव शनिबार पोखरामा मनाएको छ। सहकारीले उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मानसँगै सहकारी सिद्धान्त, वित्तीय अनुशासन र सदस्य सचेतनाबारे प्रशिक्षणसमेत सम्पन्न गरेको जनाएको छ।
पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहकारीले स्थानीय क्षेत्रमा आर्थिक व्यवहारमार्फत समुदायमा सकारात्मक प्रभाव पारिरहेको स्मरण गरिएको थियो। अध्यक्ष कर्माचार्यले सहकारीलाई मानव सेवा र स्थानीय विकाससँग जोडेर अघि बढाउनु जरुरी भएको उल्लेख गर्दै सेयर सदस्यको इमानदार कारोबारले नै सहकारीको भविष्य निर्धारण गर्ने बताए। उनले सहकारीले देखाइरहेको संस्थागत गतिशीलता उत्साहप्रद रहेको टिप्पणी गरे।
सयपत्री सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक, सञ्चालन तथा सचिवालय प्रतिवेदन पेश गर्दै सहकारीले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी कारोबार विस्तार गरेको जानकारी गराइएको थियो। अध्यक्ष कार्कीका अनुसार सहकारीले पारदर्शिता, सुशासन, न्युन जोखिमयुक्त लगानी र सदस्यलाई आवश्यक सेवा–सुविधामा निरन्तर जोड दिँदै आएको छ। कार्कीले सहकारीलाई “जीवित, सक्रिय र विश्वसनीय संस्थाका रूपमा उभ्याउन सबै सदस्यको समान प्रतिबद्धता आवश्यक छ” भन्दै संस्थाको निरन्तर प्रगतिका लागि कारोबारका हरेक क्षेत्रमा सयपत्रीलाई पहिलो विकल्पका रूपमा लिन आग्रह गरे। उनले सहकारीमा अनावश्यक आर्थिक भार पर्ने गतिविधि रोकिएको र स्रोत व्यवस्थापनलाई किफायती ढङ्गले अघि बढाइएको बताए।
सहकारीका सल्लाहकार विश्वराज बस्तोलाले हाल सहकारी क्षेत्र जोखिमपूर्ण मोडमा प्रवेश गरेको भन्दै ऋण असुली प्रक्रियामा सुदृढ संयन्त्र विकास आवश्यक रहेको सुझाव दिए। आर्थिक संकट, धितो मूल्यांकन र सेयर सदस्यको भुक्तानी क्षमतालाई गम्भीररूपमा विश्लेषण गर्न सकिनु पर्ने उनको तर्क थियो। उनले सहकारीका संचालक समितिलाई वित्तीय निर्णयका हरेक पक्षमा सूक्ष्म मूल्यांकन र सन्तुलित लगानी गर्न आग्रह गरे। जिल्ला सहकारी संघका प्रतिनिधि दीपकप्रसाद घिमिरेले सहकारी क्षेत्रमा दोहोरो सदस्यता, आवेगमा गरिएको ठूलो लगानी, प्रबन्धकीय कमजोरी र पारदर्शिताको अभावले समस्या देखिएको उल्लेख गर्दै सदस्य संख्या, कार्यक्षेत्र र लगानी दायरा स्पष्ट रूपमा निर्धारण गर्नुपर्नेमा जोड दिए। उनले सहकारीले व्यवस्थापक तथा कर्मचारीलाई नियमित क्षमता अभिवृद्धि प्रशिक्षण उपलब्ध गराउनुपर्ने राय राखे।
कार्यक्रमलाई सहकारीका सचिव बसन्तराज कोइरालाले सञ्चालन गरेका थिए। उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष नारायणप्रसाद बास्तोलाले आर्थिक प्रतिवेदन, सचिव कोइरालाले वार्षिक प्रतिवेदन र अध्यक्ष कार्कीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सहकारीका प्रबन्धक विकास सवेदीले सयपत्री सहकारीले स्थापना कालदेखि नै सामाजिक जिम्मेवारी, पारदर्शिता र सदस्य सेवामा निरन्तर समर्पित रहँदै आएको बताए। १६ वर्षअघि स्थापित सयपत्री सहकारीले पोखरामा जिम्मेवार सहकारीको पहिचान बनाउन सफल भएको आयोजकले जनाएको छ। सहकारीको वृद्धि र विश्वसनीयतामा सेयर सदस्यको सक्रियता निर्णायक रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा सामाजिक तथा आर्थिक क्षेत्रका कार्यक्रम विस्तार गरिने सहकारीले जनाएको छ।




