
पोखरा,
पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको हो ।
करिब १४ महिना पछि पुनः गोदार अध्यक्षमा नियुक्त हुनु भएको हो । पोखरा–१७, घारीपाटनका गोदार करिब ३५ वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक रहनु भएको कराँते प्रशिक्षकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँको प्रशिक्षणमा गण्डकी प्रदेशले छैटौँ, सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ लगातार च्याम्पियन बन्न सफल भएको थियो। पोखरा स्पोट्र्स अवार्डबाट ‘उत्कृष्ट प्रशिक्षक’ सम्मान प्राप्त गरिसक्नु भएको उहाँ जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ ।
नेपालमा मुआथाई खेल भित्र्याउन र पोखराबाट यसको औपचारिक प्रशिक्षण सुरू गराउन पनि गोदारको अग्रणी भूमिका रहेको छ । नवनियुक्त अध्यक्ष गोदारले आफ्नो दोस्रो कार्यकाललाई ‘ग्रासरुटमै आधारित खेल विकासको अभियान’का रूपमा अघि बढाउने जनाउनु भएको छ ।
मंसिरको पहिलो साता हुने राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिताबाट तीन वर्षे कार्ययोजना शुरू गर्ने उहाँले जनाउनु भयो । त्यसपछि समितिको पूर्ण बैठक बसेर विस्तृत कार्ययोजना तयार गरिने उहाँले पोखराक्लिकलाई जनाउनु भयो । उनले विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई प्रमुख प्राथमिकतामा राख्दै वार्षिक रूपमा १५ खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने रणनीति रहेको जनाउनु भयो । गोदारले आगामी तीन वर्षमा गण्डकी प्रदेशलाई ‘नमूना खेल प्रदेश’ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।






