
दीननाथ बराल,
पोखरा, २७ कात्तिक,
नेपालमै बनेको राइड शेयररिङ एप मुभइन एपलाई अनिवार्य रुपमा प्रयोग गर्न यातायात व्यवसायीहरुले आग्रह गर्नु भएको छ । पोखरेली ट्याक्सी सेवा प्रा.लि.को विहिबार पोखरामा सम्पन्न ७ औं साधारण सभाको उद्घाटनको अवसरमा यातायात व्यवसायीहरुले पोखरामा हालै संचालनमा ल्याएको नेपालमै बनेको मुभईन एपलाई ट्याक्सीबाट यसको सुरुवात गरी देश व्यापी प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनु भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बिजय बहादुर स्वाँरले नीजि क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन माग गर्नु भयो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष स्वाँरले १३ खर्ब भन्दा बढी लगानी रहेको यातायात क्षेत्रको भविष्य सुरक्षित गर्न उद्योगको रूपमा मान्यता दिनुपर्ने माग गर्नु भएको हो । उहाँले भन्नुयो“ देशभर १३ खर्ब रुपैयाँ भन्दा बढी लगानी यस क्षेत्रमा भइसकेको छ र १५ लाख भन्दा बढी नेपाली प्रत्यक्ष रोजगारमा छन् भने तीनका परिवार जोड्दा ४० लाख नेपालीको जीवन यो क्षेत्रसँग गाँसिएको छ । ” यी सबैको भविष्य सुरक्षित गर्न सरकारको स्पष्ट नीति आवश्यक भएको बताउदै उहाँले राष्ट्रिय उद्योगको रूपमा यातायात क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारप्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो “सरकार हाम्रो अभिभावक हो, हामी सहकार्यका लागि तयार छौं, तर सरकारले हामीलाई पेलिरह्यो भने हामी हाम्रो शक्ति देखाउन बाध्य हुनेछौं, जुन वेला दुर्घटना निम्तिन सक्छ । ” उहाँले अवैध रूपमा सञ्चालनमा रहेका विदेशी राइडसेयरिङ एपहरूका विरुद्ध आफूहरू उठेको स्पष्ट गर्दै अब भने पोखराबाट सुरु भएको नेपाली एप मुभईन एपलाई सबैले प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । आफुहरु प्रविधि विरोधी नभएको बताउदै अध्यक्ष स्वाँरले पोखरामा तयार पारेको ‘मुभइन’ एपलाई देशमै पहिलो कानुनी र घरेलु राइडसेयरिङ मोडलका रूपमा प्रस्तुत गर्दै यसको देशव्यापी प्रयोग बढाउन आग्रह गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सिण्डिकेट तोड्ने नाममा सरकारले २०७४ सालमै यातायात क्षेत्रलाई भत्काएको आरोप लगाउनुभयो । वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले व्यवसायी फुटेर नभई जुटेर अघि बढन सुझाव दिदै स्थानीय तहको निर्वाचन र यातायात व्यवसायीहरु माथि कुनै राजनीतिक विभाजनमा नपार्न आग्रह गर्नुभयो । सवारी ऐनअनुसार रातो प्लेटले यात्रु बोक्न नपाउने उनले जनाउनु भयो । महासंघका सचिव भानुभक्त बरालले क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गर्दै अब सबै सरोकारवाला एउटै टेबलमा बस्नुपर्ने बेला आएको जनाउनु भयो ।
ट्याक्सी वर्गीय संयोजक प्रकाशमणी तिवारीले महासंघ कमजोर बनेपछि सरकारले यातायात क्षेत्रमा हस्तक्षेप गर्न थालेको गुनासो गर्दै सञ्चारमाध्यमले व्यवसायीको पीडा नउठाएको भन्दै पत्रकारहरूसँग पनि आक्रोश व्यक्त गर्नुभयो । गण्डकी प्रदेश संयोजक केदार पौडेलले सिण्डिकेट तोड्ने नाममा व्यवसायीलाई प्रालिमा ल्याएर पीडा थपिएको उल्लेख गर्दै सवारी ऐन संशोधनको माग गर्नुभयो । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले ट्याक्सी सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सुझाव दिए दिनुभयो । मजदुर नेता किरणबाबु पन्तले व्यवसायी र मजदुरबीच सहकार्य आवश्यक भएको बताउनु भयो । कार्यक्रममा ‘मुभइन’ एपको डेमो प्रस्तुत गरिएको थियो ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले कम्पनी प्रविधिमैत्री बन्दै गएको बताउँदै भन्नुभयो, “अब हामी आफ्नै एपमार्फत यात्रु सेवामा थप सहजता ल्याउँदैछौं।” सांस्कृतिक रंगमा समेटिएको कार्यक्रममा हिमाली सांस्कृतिक परियार समूहले नृत्य प्रस्तुत गरेको महासचिव युवराज भट्टराईले पोखराक्लिकलाई बताउनु भयो ।



