
दीननाथ बराल,
पोखरा, २४ कात्तिक,
देशमा उत्पन्न पछिल्लो घटनाक्रम जेनजी आन्दोलनका कारण गण्डकी प्रदेश सभा बैठक प्रभावित हुँदै आएको अवस्थामा आज(सोमबार) भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगत केही महिनादेखि देशमा देखिएको राजनीतिक अस्थिरता, जनआन्दोलन र त्यसबाट उत्पन्न क्षतिको समीक्षा गर्दै शान्ति, स्थायित्व र पुनर्निर्माणतर्फ एकजुट हुन सबै पक्षसँग आग्रह गर्नुभयो।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशको पछिल्लो परिवेश यहाँहरू सबैलाई थाहा छ। जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो। आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।” उहाँले आन्दोलनका क्रममा संघीय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अदालतलगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय रहेको बताउनुभयो ।
सरकारका निकायलाई फौजदारी घटना, तोडफोड, लुटपाट र डकैतीमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न निर्देशन दिदै उहाँले नागरिकमा देखिएको डर र त्रास हटाएर कानूनी शासन र शान्त वातावरणको प्रत्याभूति दिलाउनु आजको मुख्य आवश्यकता रहेको बताउनु भयो । आन्दोलनका नाममा राजनीतिक नेतामाथि भएको अमानवीय आक्रमणप्रति उहाँले गहिरो खेद समेत व्यक्त गर्नुभयो ।
पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने दीर्घकालीन योजनामा सरकार अघि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, “निजी क्षेत्रमाथि आन्दोलनका क्रममा भएको आक्रमणले वातावरण धमिल्याएको छ। तर, हजारौँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार सक्रिय रहनेछ।” जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु आफुहरुको मुख्य दायित्व रहेको उहाँको भनाई थियो ।
उहाँले युवापुस्ताको व्यवहारिक आकांक्षा र भावना समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रदेशको सीमित स्रोत साधनका बाबजुद नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा सरकार जुटेको बताउँदै उहाँले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने स्पष्ट पार्नुभयो ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको तयारी संघीय सरकारमार्फत अघि बढिरहेको सन्दर्भमा मुख्यमन्त्री पाण्डेले प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाज, युवा र सम्पूर्ण प्रदेशवासीलाई निर्वाचन प्रक्रियालाई सफल बनाउन आग्रह गर्नुभयो। जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र पुगेको क्षतिको विवरण प्रस्तुत गर्दै उहाँले आन्दोलनका क्रममा ३ जनाको ज्यान गयो र ७० जनाभन्दा बढी घाइते भएको जनाउनु भयो ।
कास्की, तनहुँ, नवलपुर, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा गरी ७ जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचना क्षतिग्रस्त भएको तथ्याङ समेत सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले ३६१ वटा दुईपाङ्ग्रे र १६१ वटा चारपाङ्ग्रे सवारी साधनमा आगजनी भएको जनाउनु भयो ।
जेनजी आन्दोलनको कारण सरकारी तथा निजी क्षेत्रको गरी करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको उहाँको दाबी थियो । मुख्यमन्त्रीले भन्नुभयोे, “प्रदेश सरकारका मातहतका मन्त्रालय, निकाय र कार्यालयबाट सेवा प्रवाह सहज र नियमित बनाउन पहल भइरहेको छ, क्षति पुगेका संरचनाको मूल्याङ्कन र पुनर्निर्माणको प्रक्रिया सुरु भइसकेको छ।” अकल्पनीय क्षतिका कारण बजेटीय चुनौती देखिए पनि प्रदेश सरकार तत्काल सेवा सुचारु गर्न र नागरिक सरोकारका विषयमा सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले जनाउनु भयो । जेनजी आनदोलनका कारण प्रदेश सभाको सभाहल सहितको संरचना आगजनी भएकोले कृषि मन्त्रालयबाट बैठक सुरु गरिएको सभामुख कृष्ण धितालले बताउनु भयो ।



