पुम्दी भुम्दीका पर्यटक क्षेत्रमा सबै यातायात व्यवसायीलाई फोहोर नगर्न र सवारी साधनमा डस्टबिन राख्न आग्रह

-


     पोखरा क्लिक     
     कार्तिक २४ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको छोरेपाटनदेखि पुम्दीकोटसम्मको पर्यटकीय क्षेत्र अत्यधिक भीडभाड युक्त भएकाले फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुदै आएको स्थानियले बताएका छन् । यस क्षेत्रलाई सफा, आकर्षक र पर्यावरणमैत्री बनाउने उद्देश्यले स्थानीय संघ–संस्था र वडा कार्यालयको सहयोगमा नियमित सरसफाइ अभियान सञ्चालन हुने भएको छ।

यस अभियानअन्तर्गत आज (सोमबार) नगर बस समिति, पृथ्वीराजमार्ग बस संचालक कम्पनी, पोखरेली ट्याक्सी सेवा प्रा.लि.पर्यटक बस पार्कमा सञ्चालनमा रहेका विभिन्न बस कम्पनीहरू, साथै ट्राफिक र प्रहरी चौकीहरूलाई फोहोर नगर्न र सवारीसाधनमा अनिवार्य रूपमा डस्टबिन राख्न अनुरोध गरिएको छोरेपाटन शान्ति स्तूप पुम्दिकोट सरसफाइ व्यवस्थापन समितिका संयोजक आशिष बरालले बताए ।

वडा कार्यालयमार्फत पठाइएको ध्यानाकर्षण पत्रमा जथाभावी फोहोर फाल्नेहरूमाथि कारबाही गरिने चेतावनी समेत दिइएको सदस्य दिनेश बरालले जनाए । वडा कार्यालयको सहयोगमा विभिन्न स्थानहरूमा सूचना–मूलक बोर्डहरू राख्ने र नियमित सरसफाइ कार्यलाई निरन्तरता दिने योजना रहेको समितिले जनाएको छ। यसै सन्दर्भमा आउदो मंसिर १३ गते बिहान ७ः३० बजे छोरेपाटन देखि पुम्दिकोट सम्म बृहत् सरसफाइ कार्यक्रम आयोजना हुने भएको सदस्य बरालले जनाए ।