
दीननाथ बराल,
पोखरा, १७ कात्तिक,
पोखरा रंगशाला फ्री वाइफाइ जोनको रूपमा विकसित गरिने भएको छ । चर्चीत इन्टरनेट कम्पनी वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडको प्रविधिक सहकार्यमा जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशालामा ५ ठाँउमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा समितिका अध्यक्ष मिलन गुरुङ र वल्र्ड लिंक कम्युनिकेशनका गण्डकी जनसम्पर्क अधिकृत यूसुफ श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । सम्झौता आगामी पाँच वर्षका लागि ५ ठाँउमा लागु हुने समितिले पोखराक्लिकलाई जनाएको छ ।
सम्झौता अनुसार, प्रारम्भिक चरणमा रंगशालाका पाँच स्थानमा—मुख्य गेट, भलिबल प्रशिक्षण केन्द्र, बहुउद्देश्यीय कभर्ड हल (हल भित्र रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मिडिया सेन्टर), क्रिकेट मैदान, टेनिस कोर्ट र फुटबल स्टेडियम वरपर—फ्री वाइफाइ सेवा जडान गरिने भएको हो ।
समितिका अध्यक्ष गुरुङका अनुसार, “आजको सम्झौताले पोखरा रंगशालालाई आधुनिक प्रविधिसँग जोड्ने काम गर्ने छ, अब दर्शकहरूले खेल हेर्दै आफ्ना परिवार र साथीहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न वा खेलको झलक साझा गर्न सक्नेछन्।”
वल्र्ड लिंक कम्युनिकेशनले उक्त परियोजनामा करिब ३० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीका जनसम्पर्क अधिकृत श्रेष्ठले पोखराको खेलकुद विकासका लागि यो सानो तर महत्वपूर्ण सहयोग भएको बताउनु भयो । सामाजिक उत्तरदाहित्व अन्र्तगत खेल क्षेत्रमा उक्त सहयोग गरेको उहाँले जनाउनु भयो ।
सम्झौता कार्यक्रमका क्रममा वल्र्ड लिंकका प्रोजेक्ट म्यानेजर विरेन्द्र थापा, समिति उपाध्यक्ष तिलक बहादुर अधिकारी क्षेत्री लगायतको सहभागिता रहेको थियो । आगामी दिनमा पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता तथा प्रत्यक्ष प्रसारणमा वल्र्ड लिंक इन्टरनेट पार्टनरका रूपमा समावेस गर्नुपर्ने छ । एकै पटकमा करिब ३ हजार जनाले उक्त इन्टरनेट सेवा लिन सक्ने कम्पनीले दाबी गरेको छ ।







