
काठमाडौं, कात्तिक ७,
आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
गत शनिबार दिउँसो अनामनगरस्थित एक रेकर्डिङ स्टुडियोमा पौडेलले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्कालै उद्धार गरी उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको थियो।यस घटनापछि प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो। गिरी हाल पनि प्रहरीको सम्पर्कमा रहेको बताइएको छ।
प्रहरीका अनुसार अहिले सम्म पौडेलको परिवार वा अन्य कसैले गिरीविरुद्ध कुनै औपचारिक जाहेरी दिएको छैन। पौडेलको निधनसँगै नेपाली संगीत क्षेत्रले एक प्रतिभावान कलाकार गुमाएको बताउँदै उनका सहकर्मी तथा शुभेच्छुकहरूले दुःख प्रकट गरेका छन्।





