कास्की कारागारबाट फरार ८१ कैदी तथा थुनुवा प्रहरीद्वारा पक्राउ

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८२ मा प्रकाशित


पोखरा, ३० असोज,

जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार भएका ८१ जना कैदी तथा थुनुवालाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापछि विभिन्न मुद्दामा थुनामा रहेका कैदी तथा थुनुवाहरू कारागारबाट फरार भएका थिए।

घटनापछि कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रूपमा फर्किन सार्वजनिक रुपमा अपिल गरेको थियो। अपिलको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले फरारहरूको खोजतलास कार्यलाई तीव्र बनाएको थियो। प्रहरीको सक्रियता र निरन्तर अनुसन्धानका आधारमा विभिन्न स्थानहरूबाट ८१ जना फरारहरू पक्राउ परेका हुन्। उनीहरूलाई पुनः कास्की कारागारमा बुझाइएको प्रहरीले प्रेस विज्ञेप्ति मार्फत उल्लेख गरेको छ ।

पक्राउ परेकामध्ये जबरजस्ती करणीमा १६ जना, लागू औषध सम्बन्धी १६ जना, चोरी २५ जना, कर्तव्य ज्यान ८ जना, ज्यान मार्ने उद्योग ९ जना, अभद्र व्यवहार ४ जना, सवारी अंगभंग १ जना, कुटपिटबाट अंगभंग १ जना, र मानव वेचविखनमा १ जना रहेका छन्। प्रहरीका अनुसार बाँकी फरारहरूको खोजी कार्य निरन्तर जारी छ। कास्की प्रहरीले शान्ति सुरक्षा र कानूनी शासन सुदृढ बनाउन कुनै पनि फरारको सूचना पाए तुरुन्त प्रहरीलाई जानकारी गराउन नागरिकहरूलाई आग्रह गरेको छ।