
दीननाथ बराल,
पोखरा, २९ असोज,
पोखरा महानगर–१३, उदगमटोलका ३७ वर्षीय सूर्यराज तिमिल्सिना पछिल्ला वर्षहरूमा कृषिक्षेत्रमा सफल उद्यमीका रूपमा रमाउदै हुनुहुन्छ । तरकारी र गाईपालन व्यवसायसंगै उनले केही बर्ष देखि तिहार लक्षित सयपत्री फूल खेती समेत गर्दै आउनु भएको छ ।
कालिका पशुपालन फार्ममार्फत उहाँले यस वर्ष फूल बिक्रीबाट मात्र दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राख्नु भएको छ । पोखरा महानगरपालिकाले तिहारको फूल उत्पादनमा अनुदान दिएपछि उहाँले तरकारी खेतीसँगै फूल खेती पनि गर्न थाल्नु भएको हो । बिषेश गरी तरकारी लगाई बाँकी रहेको जग्गामा तथा खेलको डिल भागमा जमिनको सदुपयोग गर्दै उहाँले सयपत्री फुल रोप्नु भएको तिमिल्सिनाले पोखराक्लिकलाई सुनाउनु भयो ।
पछिल्ला आठ वर्षदेखि तरकारी खेती र १५ वर्षदेखि गाईपालन गर्दै आउनु भएको तिमिल्सिनाले यो सिजनमा करिब २२ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रूपमा खेती गर्नु भएको हो । अहिले उहाँको फार्ममा काउली, बन्दा, टमाटर, साग, सिमी, ब्रोकोली र सयपत्री फूल फुलेका छन्।
तिमिल्सिनाको फार्ममा १८ वटा गाई छन्, जस मध्ये १४ वटाले दैनिक १०० लिटर भन्दा बढी दूध उत्पादन गर्नु हुन्छ । दूधका साथै उहाँले आफ्नै उत्पादनका फलफूल र तरकारीहरू शान्ति वन वाटिकास्थित व्यवसायिक स्टलबाट बिक्री गर्दै आउनु भएको छ ।
साउदी अरब र मलेसियामा सात वर्ष विदेशमा काम गरी तिमिल्सिना स्वदेश फर्किएपछि आफ्नी श्रीमती, दुई छोरी, आमा–बुबा र दाजु–भाउजु सहितको १० जनाको परिवारलाई स्थानीय स्तरमै रोजगारमूलक बनाउनु भएको छ । अन्य चार जनालाई प्रत्यक्ष रोजगार दिनु भएको तिमिल्सिनाले स्थायी संरचना बनाउन नपाउँदा अस्थायी बाँसका टनेल प्रयोग गर्दा बारम्बार हावा र हुरीले क्षति पु¥याउने समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।
“यदि हामीजस्ता किसानलाई १० वर्षसम्मको स्थायी जग्गा भाडामा दिने व्यवस्था मिलाइयो भने अझ आत्मविश्वासका साथ लगानी गर्न सकिन्छ,” तिमिल्सिनाले भन्नुभयो । फूल खेतीतर्फको नयाँ प्रयासले तिमिल्सिना मात्र होइन, स्थानीय किसानहरूलाई समेत प्रेरित बनाएको छ । महानगरको अनुदानका कारण किसानहरू तिहारका लागि घरेलु फूल उत्पादनमा उत्साहित हुनु भएको हो ।
पोखरा महानगरपालिकाकाले विगत केही बर्ष देखि फुल उत्पादनमा अनुदान दिएसंगै स्थानिय रुपमा फुल उत्पादन ह्ुन थालेको महानगरका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । यस बर्ष पोखरा महानगरले फुल बिक्रि गर्न विभिन्न ठाँउमा बिक्रि केन्द्र समेत तोक्ने भएको बताउदै उहाँले फुलको समेत मुल्य निर्धारण गरिने जनाउनु भयो । स्थानिय फुललाई प्रथामिकता दिन आग्रह गर्दै कडरियाले पछिल्लो बर्ष देखि स्वदेशी फुलले पोखराको बजार धान्न थालेको दाबी गर्नुभयो ।




