
दीननाथ बराल,
पोखरा, २७ असोज,
पर्यटकीय नगरी पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी अनधिकृत रूपमा सवारी साधन चलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ठुलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने तथा शान्ति–सुव्यवस्थामा खलल पु¥याउने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जना युवालार्ई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बुद्धचोकका २१ वर्षीय सुवास कार्की (ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक), पोखरा–३ बस्ने म्याग्दी मालिका गाउँपालिका–१ स्थायी रुपमा बस्दै आउनु भएको २५ वर्षीय एल्बिन पुन (ग २४ प ४४६६ नम्बर), पोखरा–६ का २६ वर्षीय सन्जिव दुवाडी (ग १४ प ८३९९ नम्बर) र पोखरा–५ प्रस्याङका २९ वर्षीय अमृत चापागाई (ग ९ प ६०१३ नम्बर) रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत हरिबहादुर बस्नेतले बताउनु भयो ।
उनीहरूलाई विभिन्न मिति र समयमा अनधिकृत रूपमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी सवारी सञ्चालन गर्ने क्रममा नियन्त्रणमा लिइएको उहाँले जनाउनु भयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको सूचना अधिकारी बस्नेतले बताउनु भयो । हाल शहर र गाउँ दुबै क्षेत्रमा ठुलो आवाज निकाल्ने, साइलेंसरबाट आगोको झिल्का फाल्ने, होहल्ला मच्चाउने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकलका गतिविधि बढ्दै गइरहेकोले यस्ता गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।
कास्की प्रहरीले यस्ता मोटरसाइकल देख्दा नेपाल प्रहरीको हटलाइन नम्बर १००, ट्राफिक प्रहरीको १०३, वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको समेत गरेको छ । सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम गरिने प्रहरीले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरेको छ ।




