
पोखरा,
मौसममा क्रमिक सुधारसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। वर्षा रोकिएसँगै यात्रुहरू काठमाडौं भित्रिने र बाहिरिने क्रम पुनः सुरु भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४८ जना काठमाडौं भित्रिएका छन् भने २ हजार २ सय ६४ जना बाहिरिएका छन्। भित्रिने सवारी ५४० र बाहिरिने ४६५ रहेको छ।
सरकारले बीपी राजमार्गबाहेक अन्य राजमार्गहरू सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडकखण्डमा पनि सवारी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बढी वर्षा गराउने प्रणाली मध्यक्षेत्रबाट हटिसकेको र पश्चिमतर्फको मौसम यातायात सञ्चालनका लागि अनुकूल बनेको छ।
यसअघि, लगातारको वर्षाका कारण सरकारले असोज १८ देखि २० गतेसम्म काठमाडौं भित्रिने र बाहिरिने आवागमनमा अस्थायी रोक लगाएको थियो।
यता, पूर्वी नेपालका इलाममा बाढी र पहिरोमा परी मृतकको संख्या २८ पुगेको छ। सूर्योदय, इलाम नगरपालिका, देउमाइ, फाकफोकथुम, मान्सेबुङ, माइजोगमाइ र सन्दकपुरका विभिन्न स्थानमा घर पुरिँदा मानवीय क्षति भएको हो। सुरक्षा निकायहरूले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारेका छन् र घाइतेहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि लगिने क्रम जारी छ।




