कास्कीमा विपद् जोखिम न्यूनीकरण तथा सवारी आवागमनका लागि प्रशासनको विशेष निर्देशन

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८२ मा प्रकाशित


पोखरा, असोज १९,

अत्यधिक वर्षाको पूर्वानुमान र त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले सवारी साधनको आवतजावत, विपद् व्यवस्थापन र यात्रु सहजीकरणसम्बन्धी विशेष निर्णय सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न विपद् समन्वय बैठकले असोज १७ देखि २० गतेसम्मको अवधिमा वर्षाको सम्भावित प्रभावका कारण विभिन्न सरोकारवालासँग समन्वय गर्दै १० बुँदे निर्णय जारी गरेको हो।

बैठकमा सहभागी सरोकारवाला निकायमा निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, रेडक्रस लगायतका प्रतिनिधिहरू सहभागी थिए।जिल्ला प्रशासन कार्यालयका अनुसार, सवारी आवागमनमा रोक लगाइएका अवस्थामा एम्बुलेन्स, गर्भवती तथा अशक्त व्यक्तिहरू बोकेका सवारी साधनहरूलाई सहज रूपमा आवतजावत गर्न दिने व्यवस्था मिलाइनेछ। त्यस्तै, लामो दुरीका सवारी साधनका टिकट तत्कालका लागि काट्न रोक लगाइएको छ।

अत्यावश्यक वस्तुहरू — जस्तै दूध, फलफूल, तरकारी, खाना पकाउने ग्याँस बोकेका साना सवारी साधनहरूलाई भने प्रहरी तथा ट्राफिक समन्वयमा सञ्चालनको अनुमति दिइने उल्लेख गरिएको छ। होटल एशोसिएसन पोखरा र पर्यटन व्यवसायीलाई पोखरामा अलपत्र यात्रुहरूका लागि सुलभ दरमा बसोबास र खानाको व्यवस्था मिलाउने आग्रह गरिएको छ।

स्याङ्जा–कास्की, म्याग्दी–बाग्लुङ, पर्वत–कास्की र कास्की–तनहुँ सडकखण्डमा भने यात्रा सहज रहेको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार, हवाई सेवामा संलग्न कम्पनीहरूले सरकारले तोकेको भन्दा बढी भाडा नलिनु, विदेश यात्राका यात्रुहरूलाई प्राथमिकता दिनु, र उडान संख्या बढाउन प्रयास गर्नु पर्नेछ।

यस्तै, वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै पर्यटकलाई पदयात्रामा नपठाउन पर्यटन व्यवसायी र होटल व्यवसायीलाई निर्देशन दिइएको छ । प्रशासनले सम्भावित विपद् व्यवस्थापनका लागि रेडक्रस सोसाइटीलाई रगत तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न, र सबै स्थानीय तह र विपद् सम्बद्ध निकायहरूलाई सतर्क रहन अनुरोध गरेको छ।

जिल्ला प्रशासनले आवश्यक समन्वयका लागि प्रहरी कन्ट्रोल नम्बर १००, ट्राफिक कन्ट्रोल नम्बर १०३, साथै जिल्ला प्रहरी कार्यालयका प्र।ना।उ। हरि बहादुर बस्नेत ९९८५६०३५५१२० र ट्राफिक प्रहरी प्र।नि। शोभा पाण्डेय ९९८५६०१८३३३० सँग सम्पर्क गर्न सकिने जनाएको छ।