पोखरामा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

-


     पोखरा क्लिक     
     भाद्र २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २६ भदौ,

पोखरामा जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

पोखरा क्षेत्रमा निषेधाज्ञा लागु हुने गरी उक्त सूचना जारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो “निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दछौं, आज अबस्था अनुसार साँझ पुनः मूल्याङ्कन गरी थप निर्णय गरिनेछ।”

निषेधाज्ञा तथा कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ । साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न सक्ने व्यवस्था रहेको नेपाली सेनाले स्पष्ट गरेको छ। सेनाले आवश्यक सहयोगका लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न पनि अनुरोध गरेको छ।

यता, आन्दोलनका क्रममा केही स्थानमा चोरीका घटनासमेत बढेको भन्दै प्रशासनले सचेत रहन आग्रह गरेको छ। पोखराको लेकसाइड क्षेत्रमा क्षेगत रुपमा नागरिकहरुले निगरानी समुह गठन गरी चोरी डकैति बिरुद्ध एक हुनु भएको पोखरा पर्यटन परिषदले जनाएको छ । पोखरा क्षेत्रमा भएको क्षतिको विवरण तल प्रस्तुत गरिएको छ । अन्य क्षति भएको भए टिपाउन हुन अनुरोध गरिन्छ ।