
दीननाथ बराल,
पोखरा, २५ भदौ,
जेनजी आन्दोलनको क्रममा मंगलबार आगलागी भएको अटो व्यवसायी धुर्व थापाको घरमा एक महिलाको शव फेला परेकोे छ । उहाँको घरमा काम गर्दै आउनु भएको सिन्धुपालचोक निवासी करिब ४५ वर्षीया सञ्जु नगरकोटीलाई आज (बुधबार) मृतावस्थामा भेटिएको थापाले पोखरा क्लिकलाई बताउनु भयो ।
सीजी सहितको सोरुमसमेत रहेको पाँचतले भवनमा भएको आगलागीमा कर्मचारी गुमाउनु परेकोमा उहाँले गहिरो दुःख व्यक्त गर्दै “आगजनी हुँदा मानवीय क्षतिसमेत हुनुप¥यो, यो निकै पीडादायी छ,” थापाले भन्नुभयो सोरुमका गाडीहरूदेखि भवनसमेतमा ठूलो क्षति पुगेको छ । ” उक्त भवन हालै निर्माण गरिएको उहाँले जनाउनु भयो । यसैबीच, उनका दाजु गण्डकी प्रदेशका मन्त्री एवं व्यवसायी बिन्दुकुमार थापाको निजी निवास, पोखरा लेकसाइडस्थित अंशुभरा ग्रुपको भवन, हालै सञ्चालनमा आएको बगैचा रिसोर्ट र बाराहीचोकस्थित मन्त्र थकाली किचनमा समेत आगजनी हुँदा अर्बौंको क्षति पुगेको पारिवारिक स्रोतले उल्लेख गरेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङको गुडविल होटलमा समेत आगजनी गर्दा करोडौंको क्षति भएको छ। होटल सरोवमा आगजनी हुँदा ठुलो क्षति पुगेको छ भने एभरेष्ट भलिवल लिगमा सहभागि हुने पोखरा र काठमाण्डौंका खेलाडीहरु रहेको बताइन्छ । विदेशी खेलाडीहरु समेत रहेको उक्त होटलमा बेलुका करिब ५ बजे पछि आगजनी हुदा पासपोर्ट समेत निकाल्न नभ्याएका कारण जलेको होटलका एक कर्मचारीले बताउनु भयो । त्यस्तै बगैचा रिसोर्टमा पनि खेलाडीहरु बस्नु भएको थियो आन्दोलनकारीले तोडफोड गर्न थाले पछि मंगलबार बेलुका हतार हतारमा निकालिएको बताइन्छ । वर पिपल रिसोर्टमा पार्किङमा रहेका पाँच वटा गाडीमा आगजनी तथा इभी सहित एक पाहुनाको गाडीमा तोडफोड भएको बताइएको छ । त्यहाँ पनि खभलिवलका खेलाडीहरु रहनु भएको थियो । आन्दोलनको क्रममा पार्किङमा गाडी जल्न थाले पछि आफुहरु रुम छाडेर बच्न सफल भएको एक विदेशी पर्यटकले बताउनु भयो । प्रदेश सांसद देवका पहारीको होटल र निवासमा तोडफोड र आगजनी भएको छ भने एमाले युवा नेता राजिव पहारीको घरमा समेत आगजनी भएको छ ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत कास्की, उच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यातायात व्यवस्था कार्यालय, कास्की कारागार, गण्डकी प्रदेश सरकारका कार्यालयहरू, प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास, पोखरा महानगरपालिका र विभिन्न वडाकार्यालयमा तोडफोड र आगजनी गरेका छन्। प्रहरी चौकी र बिटहरू समेत आक्रमणमा परे।

बुधबार बिहान भने केही जेनजी युवाले सडकमा रहेका अवरोध हटाउँदै सरसफाइ गर्नु भएको छ ्। आन्दोलनकारीले सरकारी कार्यालयका टेबल, कुर्सी, फाइल तथा सवारी साधनहरू सडकमा ल्याएर जलाएको हुँदा सडक अवरुद्ध भएको थियो।
यसैगरी, पोखराको भाटभटेनी सुपरमार्केट र केटीएम सिटी लेकसाइड शाखामा तोडफोड र चोरी भएको छ। भाटभटेनीमा आगजनी हुँदा सामान नष्ट भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा विपद् व्यवस्थापनका लागि राखिएका त्रिपाल सहितका सामग्री चोरी भएको छ। पोखराको सृजनाचोकमा बुधबार मोवाइल चोर्दै गर्दा एक युवालाई स्थायिले पक्राउ गरी कुटपिट गरेका छन् ।
जिल्ला अदालत नजिकै रहेको कुमार बैंकको एटिएमसहित रकम चोरी भएको प्रहरीले जनाएको छ। मंगलबार रातभर विभिन्न स्थानमा सटर तोडफोड र होहल्ला भएकाले पोखरामा त्रासपूर्ण वातावरण बनेको स्थानीयले बताउनु भएको छ ।
हाल पोखरामा कफ्र्यू जारी छ। शान्ति सुरक्षाका लागि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको पारिएको छ । महेन्द्रपुल क्षेत्रमा सेना परिचालन गरिएको छ र अत्यावश्यकबाहेक मानिसलाई सडकमा हिँडडुल गर्न रोक लगाइएको छ।



