
दीननाथ बराल,
पोखरा १८, भदौं,
एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । यही भदौ २० देखि २८ गते सम्म पोखरामा नै हुन लागेको उक्त प्रतियोगिताको पूर्व अवसरमा पोखराको होम टिम पोखरा निन्जाजले ट्रफी अनावरण संगै ट्रफी टुर कार्यक्रम आयोजना गरेको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गर्दै पोखरामा भलिबल खेलको धेरै क्रेज र सम्भावना रहेको बताउनु भयो । उक्त खेलले भलिवल खेलको विकाससंगै महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेयर आचार्यले आफ्नो होम टिमलाई जितको अग्रिम शुभकामना दिंदै यस प्रकारका खेल गतिविधिले पोखरालाई खेलकुदको शहरको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाउनु भयो । उहाँले भन्नुभयो“खेल केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने माध्यम समेत हो ।”
मेयर आचार्य सहितको टोलीले पोखरा निन्जाजबाट सहभागि टिमका खेलाडीहरुलाई स्वागत समेत गर्नुभयो । सो अवसरमा प्रमुख आचार्यसहित, पोखरा निन्जाज टिमले पोखरा फेवातालमा ट्रफी टुर गराउँदै बराही मन्दिरको परिक्रमा समेत् गराएको थियो । सो अवसरमा पोखरा निन्जाज टिमका प्रमुख नितिन खानेकर, नेपाल भलिबल संघका सल्लाहकार द्वय हरिप्रसाद पराजुली र नारायण प्रसाद शर्मा, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईलगायत पर्यटन एव खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राजधानी बाहिर पोखरामा आयोजित दोस्रो संस्करणमा पोखरा निन्जाजले प्रगती नाथलाई मार्की प्लेयरको रुपमा अघि सारेको छ । त्यस्तै टिममा पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महरा, भावना तामाङ, गिरिश्मा गुरुङ रहनु भएको छ । त्यस्तै विदेशी खेलाडीहरुमा अदिओला ओवोकोनिरान, लिया बोबन र अनामरिया बेर्दिलारहेको टिमका अपरेशन हेड विकाश खेतानले जनाउनु भयो । यसै गरी टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहनु भएको छ । टिम अपरेशनमा विशाल खेतान, फिजियोमा प्रीया लामा, मिडिया मेनेजरमा सन्ध्या ढुङ्गाना रहनु भएको छ । पोखरा निन्जाजले टिम एम्वसडरको रुपमा नेपाली चर्चित अभिनेत्री सनिशा भट्टराईलाई अघि सारेको छ । एभरेष्ट महिला भलिबल लिगमा ६ टिमको सहभागिता रहेको छ । यसैबिच भोलि विहिबार पोखराका मेयर धनराज आचार्य र नेपालका चर्चीत महानायक राजेश हमाल बिचको टोलीसंग मैत्रिपूर्ण भलिवल खेल समेत हुने तयारी गरिएको छ ।






