समाव विज्ञान केन्द्रको कचहरीसंघीयता अपरिहार्य तर अस्थिरताले कमजोर

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


पोखरा, १४ भदौ,

संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे ।

परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३ यता १३ जना प्रधानमन्त्री फेरिनु, कोशी प्रदेशमा ९ पटक र गण्डकीमा २०७४ यता ७ पटक नेतृत्व परिवर्तन हुनु राजनीतिक अस्थिरताको प्रमाण भएको उल्लेख गरे ।
अनुसन्धानकर्ता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि स्थानीय तहले सेवा प्रवाह र भौतिक निर्माणमा उल्लेखनीय काम गरेको बताए । उपमेयर स्वस्थानी रिजालले दशकभरिको अभ्यास समीक्षा आवश्यक रहेको भन्दै कानुनी, कार्यान्वयन र कर्मचारी क्षमतामा कमी रहेको धारणा राखिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले संघले अधिकार दिन कञ्जुस्याइँ गरेको र जिल्ला समन्वय समिति अनावश्यक भएको बताए ।

गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले संघीयताको मोडल स्पष्ट नभएकाले प्रदेश कमजोर बनेको बताए । पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता सबल नभएसम्म संघमाथि निर्भरता रहने उल्लेख गरे । अधिवक्ता डा। विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधान खोज्नुपर्नेमा जोड दिए भने प्रा।डा। लेखनाथ भट्टराईले “स्थानीय तह प्रभावकारी भए पनि प्रदेश तह नागरिकसँग जोडिन नसकेको” बताए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै शैली प्रयोग भएको सुनाए । पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोखे । डा। कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि राजनीतिक दल र शासकको कार्यशैली सुधार आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा बाबुराम पौडेल, सुरेन्द्र परियार, अर्जुन पोखरेल, डा। रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा, उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालगायतले पनि संघीयता कार्यान्वयनका विषयमा जिज्ञासा र धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र अभ्याससँग जोडिएको प्रणाली भएको भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन नभएका विषयमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष प्रस्तुत गरे । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले मासिक रुपमा कचहरी सञ्चालन गर्दै आएको छ । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कचहरीसँगै अनुसन्धान र प्रकाशनका काम पनि गरिरहेको जानकारी दिए ।