पोखरामा ‘विश्व शौचालय सङ्घ’ सहकार्य प्रस्ताव, अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा सहकार्य हुने

-


     पोखरा क्लिक     
     भाद्र ११ गते २०८२ मा प्रकाशित


पोखरा,

विश्व शौचालय सङ्घका महासचिव वन होङ ली नेतृत्वको कोरियाली प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ। भेटवार्तामा महासचिव लीले पोखरा महानगर क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणका लागि सहकार्य प्रस्ताव गरेका हुन्।

सङ्घले यसअघि नेपालमा काभ्रे र पर्वत जिल्लामा गरी दुईवटा सार्वजनिक शौचालय निर्माण गरिसकेको जानकारी दिँदै, अब पोखरामै पनि महानगरपालिकासँग मिलेर काम गर्न इच्छुक रहेको स्पष्ट गरेको छ। नगर प्रमुख आचार्यले शौचालय निर्माण महानगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दै भने, “पर्यटकीय राजधानी पोखरा संसारभरका पर्यटक आउने सहर भएकाले मुख्य चोक र घना बस्ती भएका क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक छन्। महानगरपालिकाले एकल र साझेदारीमा शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय सञ्जाल रहेको विश्व शौचालय सङ्घले राखेको प्रस्तावलाई हामी सकारात्मक रूपमा लिएका छौँ।”

उनका अनुसार हाल पोखरामा १५ भन्दा बढी स्थानमा महानगरले आफ्नै लगानीमा निर्माण गरेका सार्वजनिक शौचालय छन् भने करिब ६० स्थानमा निजी साझेदारीमा सञ्चालित शौचालय सञ्चालनमा छन्। विश्व शौचालय सङ्घ सन् २००७ मा स्थापना भएको हो। शौचालयलाई सरसफाइ सुधार र जीवन रक्षा अभियानसँग जोड्दै सङ्घले विश्वभरका विभिन्न मुलुकमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

भेटवार्तामा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं। १७ की अध्यक्ष राधिका शाही योगी, सरसफाइ शाखा प्रमुख बलराम पाठकसहित सङ्घका निर्देशक योङ चान सिम ९थ्यगलन(अजबल क्ष्m० र सदस्य डा। सन्जु कुमारी पौडेल उपस्थित थिए।