पोखरामा लेक–टु–लेक साइकल ट्र्याकको गुरुयोजना तयार

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १६ साउन,

पर्यटकीय नगरी पोखरामा रहेका सबै ताललाई आपसमा जोड्ने गरी निर्माण हुने ‘लेक–टु–लेक साइकल ट्र्याक’ को गुरुयोजना तयार भएको छ। एसियाली विकास बैंक (एडिबी) को करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा बन्ने उक्त पूर्वाधारले पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।

शुक्रवार एडिबी मिसन र सरोकारवालासँग भएको छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले करिब १ सय १७ कि।मी लम्बाइको यो ट्र्याकले पर्यटकका लागि महत्वपूर्ण आकर्षण बन्ने बताउनुभयो। प्रारम्भिक अनुमान अनुसार ८५ कि।मी रहने ट्र्याक हाल कामको परिमार्जनसँगै १ सय १७ कि।मी पुगेको हो।

मेयर आचार्यले भन्नुभयो, “यसले संसारभरिका साइकल प्रेमीलाई पोखरामा तान्नेछ, तालको किनार हुँदै हिमाल हेर्दै साइक्लिङ गर्ने छुट्टै अनुभव दिनेछ। यो परियोजना पर्यटन विकासमा कोसेढुङ्गा सावित हुनेछ।”

एडिबीको सहयोगमा सञ्चालन हुने यस परियोजनाको स्थलगत अवलोकन एडिबी मिसनले गरिसकेको र गुरुयोजना अनुसार इनर र आउटर दुई मुख्य रुट सहित विभिन्न कनेक्टिङ रुट निर्माण गरिने आयोजना व्यवस्थापक कविता पौडेलले जानकारी दिनुभयो।