कास्कीका सुनचाँदी पसल ६ दिनदेखि बन्द

-


     पोखरा क्लिक     
     असार १८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १८ असार,

हिजो आज कास्की जिल्लाका सबै जसो सुनचाँदी पसलहरू ६ दिनदेखि बन्द छन्। सरकारद्वारा सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा शुरु भएको यो आन्दोलन अन्तर्गत गत शुक्रबारदेखि कास्की जिल्लाभरका पसलहरू बन्द भएको महासंघ कास्की अध्यक्ष भविन्द्र विश्वकर्माले पोखराक्लिकलाई बताउनु भयो । सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागमा सुनुवाइ नभएपछि बाध्य भएर आफुहरु आन्दोलनमा जानुपर्ने बाध्यता रहेको उहाँले जनाउनु भएको हो ।

अध्यक्ष विश्वकर्माले भारतमा एक तोला सुन खरिद गर्दा करसहितको मूल्यमा १५ प्रतिशत भित्रमा कारोबार सम्भव भए पनि नेपालमा भने करिब ३० प्रतिशतसम्म कर लाग्ने अवस्थामा व्यवसाय र उपभोक्ता दुबै मर्कामा परेको बताए। “राज्यको असन्तुलित नीतिका कारण हाम्रो व्यवसाय संकटमा पर्नुका साथै उपभोक्तालाई पनि महँगोमा सुन किन्नु परेको छ,” उनले भने।

पोखराको महेन्द्रपुल, चिप्लेढुंग्गा, न्युरोड, नयाँबजार, पृथ्वीचोक, मोहोरियाटोल, सिद्धार्थचोक, पार्दी, छोरेपाटन, बगर लगायतका प्रमुख बजारहरूमा रहेका सुनचाँदी पसलहरू पूर्ण रूपमा बन्द छन्। ती क्षेत्रहरूमा सुनचाँदीका पसल बाक्लो संख्यामा छन्, जसका कारण बजार सुनसानजस्तो भएको छ।

कास्कीमा करिब ५ सयभन्दा बढी सुनचाँदी व्यवसायी क्रियाशील रहेका छन्। महासंघको समन्वयमा साप्ताहिक रूपमा ३ केजी सुन कास्कीमा आपूर्ति हुँदै आएकोमा अहिले सो प्रवाह समेत प्रभावित भएको छ ।

महासंघको केन्द्रीय निर्देशनअनुसार देशभरका व्यवसायीहरूले सुनचाँदी पसलहरू बन्द गरेका हुन्। आन्दोलन जारी रहने र माग पूरा नभएसम्म अनिश्चितकालीन बन्द कायम राखिने महासंघले जनाएको छ।



This will close in 20 seconds