
दीननाथ बराल,
पोखरा, १२ फागुन,
लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गरि गाउँको प्रचार प्रसार गर्न उक्त महोत्सव हुने भएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुहिक होमस्टेका समेत अध्यक्ष सुर्य प्रसाद गुरुङले बताउनु भयो ।
ग्रामिण पर्यटनको माध्यमबाट गरिवी न्यूनीकरण गर्ने, स्थानीय भेषभुषा, कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने, आर्थिक एवं सामाजिक स्तर बृद्धि गर्ने, पसगाउँको थप प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लगायतका उद्धेश्य राखेर उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो । देशमा संघियता आएसंगै पसगाउँले सडक संजालको कनेक्टिभिटिबाट विभिन्न क्षेत्रसंग सहज यातायातको पहुच पुगेको उहाँको दाबी छ ।
गुरुङहरुको बाहुल्यता रहेको पसगाउँमा धेरै ऐतिहासिक, धार्मिक, साँस्कृतिक एव प्राकृतिक सम्पदाहरु रहेका छन। पछिल्लो समयमा पोखरादेखि मनाङ जाने पदमार्ग “रोयल गोर्खा ट्रेक“ को मुख्य प्रस्थान विन्दु पनि पसगाउँ बन्न पुगेको अध्यक्ष गुरुङले पोखराक्लिकलाई बताउनुभयो । यस पदमार्गले कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, लमजुङको क्व्होलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र मनाङको निस्याङ गाउँपालिकालाई समेट्ने काम गर्दछ । “गुरुङ सम्पदा पदमार्ग“ ले पसगाउँमा थप पर्यटकीय गतिविधी बढाउनका लागी मद्दत पुगेको उहाँले दाबी गर्नु भयो । “गुरुङ सम्पदा मार्ग“ बाट पसगाउँको पर्यटकीय गतिविधि बढाउन मद्दत पुगेको उहाँको भनाई छ ।
पछिल्लो समय पसगाउँको क्होने डाडाँ पर्यटकको थप आर्कषणको केन्द्र बनेको छ भने क्कोसे डाडाँबाट सूर्योदय र सूर्यास्त राम्रोसँग देख्न सकिने अध्यक्ष गुरुङले जनाउनु भयो । सो क्षेत्रबाट घलेगाउँ, भुजुङ, घनपोखरा लगायतका धेरै गाउँहरु देख्न सकिन्छ । करीव १ सय ६३ घरधुरी रहेको पसगाउँमा गुरुङ समुदाय लगायत भुजेल, दलित समुदायहरु पनि रहेका छन। आफ्नो गाउँ ठाँउको प्रचार प्रसार र पर्यटन प्रर्बद्धन गर्न बर्षको एक पटक उक्त महोत्सवका कारण वेलायतमा रहेर पनि नेपाल आउन थालेको तमु धिँ यूकेका ट्रष्टीएकेन्द्र गुरुङले जनाउनु भयो ।
पसगाउँको प्रचार प्रसार गर्न, आर्थिक एवं सामाजिक स्तरलाई माथि उठाउन २०६० बैशाखमा पहिलो पसगाउँ महोत्सव भएको थियो ।
१५ औं पसगाउँ महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्नको लागी युगदेवी गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, गणेश गुरुङको संयोजकत्वमा साँस्कृतिक उपसमिती, मनलाल गुरुडको संयोकत्वमा कलाकार तथा पत्रकार व्यवस्थापन उपसमिती, शर्मिला गुरुङको संयोकत्वमा स्थानीय उत्पादन तथा मौलिक भेषभूषा सामाग्री प्रर्दशनी उपसमिती, गोपाल गुरुङको संयोजत्वमा प्रचार प्रसार तथा जनसम्पर्क उपसमिती, मन बहादुर गुरुङको संयोकत्वमा सुरक्षा व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको छ ।गुरुङहरुको कला संस्कृतिको खानी पसगाउँमा लोपोन्मुख अवस्थामा रहेको गुरुङहरुको कला संस्कृति, परम्परा (भदौ सभा), भाषा, भेषभुषा, संस्कार संस्कृतिहरु अझै पनि जीवित अवस्थामा पाउन सकिने स्थानियले बताउनु भएको छ ।
घर छाउने ढुङगा खानी, ढुङाले छाएको दक्षिण मोहडाको घरहरु, ढुङ्गाले छाएको धुमाउने घरहरु, गुरुङ संग्रहालय, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय पंक्षहरु (क्होमेदेवी, क्होम्रेडाडाँ, छेदुपुदेवी, भों भो. हाब युमा (शंखे ढुङ्गा) शिल्दुथान, भवानी पुजा, गाउँको विचमा रहेको ठाँटी ढुङ्गा, गुम्बा, प्राकृक्तिक शिव लिङ्ग लगायत वभिन्न आकृतिको, ऐतिहासिक ढुङ्गाहरु), सांस्कृतिक एवं सामाजिक पक्षहरु, राँधी प्रथा, हुरी प्रथा, सामुहिक श्रम प्रथा, आमा समूहको नाचं, युवा क्बलको साँस्कृतिक नाच, सेर्गा नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, सारङ्गी नाच, झ्याउरे नाच लगायतका बिषय बस्तु पसगाँउमा रहेको अध्यक्ष गुरुङले दाबी गर्नुभयो ।
त्यसै गरी भिर मौरी शिकार, आर्गेनिक मह, घिउ, छुर्पी, चिया, अलैची, किवी उत्पादन, स्थानीय उनबाट बनेको राडीपाखी, बख्खु, अल्लोबाट बनेको भाङ्ग्रा, इस्टकोट, झोला, स्थानीय चोयाबाट बनेको डोको, नाम्लो, धुम्सी, पेरुङ्गो, डालो, स्याखु, ढोक्सा, भकारी, चित्रा, स्थानीय जंगलमा न्हास्यला, मलगजा, आसीटडा, गोलकाकी, निरमसी, पाचऔले, कुड्की, सतुवा, बनलसुन, गुर्जी, स्थानीय दारबाट बनेको ठेकी, मदानी, पुङ, पुचै, स्थानीय जंगलमा कुरिलो, तामा, विभिन्न प्रजातिको टिमुर, विभिन्न प्रजातिको टुसा, विभिन्न प्रजातिको निउरो, विभिन्न प्रजातिका जंगली च्याउ पाइने स्थानियले बताउनु भयो । समुन्द्री सतहबाट करीव १ हजार ६ सय ५० मिटरको उचाईमा लमजुङ जिल्लाको उत्तर–पश्चिममा रहेको सुन्दर ग्रामिण पर्यटकीय गाउँ पसगाउँ क्व्होलासोथार गाउँपालिका वडा नं. ६ मा पर्दछ ।
बेशीशहर मालिङ साल्मेभन्ज्याङ हुदै पसगाउँ जान सकिन्छ भने बेशीशहर घलेगाउँ भुजुङ हुदै, वेशीशहर मालिङ साल्मेभन्ज्याङ चरागाउँ बगैचा हुदै बेशीशहर भोर्लेटार रामबजार करापु छाप गिलुङ हुदै, र पोखरा रामबजार करापु छाप गिलुङ हुदै, पोखरा, भैसे, थुम्सीकोट, मुग्रीवेसी, बालुवावेसी, वगैचा हुदै र काठमाडौ, दमौली, दुईपिप्ले, र रामबजार, गिलुङ, मपिङ, घाम्राङ हुदै पसगाउँ जान सकिने आयोजकले जनाएको छ ।




